पुष ४, काठमाण्डौ । निर्मला पन्तको बलात्कारको आशंकामा पक्राउ परेका दुई व्यक्तिको पनि डिएनए नतिजा नेगेटिभ आएको बताईको छ ।
मंसिर १८ गते काठमाडौंको महाराजगन्जमा पक्राउ परेका भीमदत्तनगर नगरपालिका–१८ का प्रदीप रावल र विशाल चौधरीको डीएनए रिपोर्ट नेगेटिभ आएको हो ।
विधि विज्ञान प्रयोगशालाले दुवैको डीएनए रिपोर्ट प्रहरी प्रधान कार्यालयलाई बुझाइसकेको छ । अब यो जिल्ला सरकारी वकिलको रोहबरमा कञ्चनपुर प्रहरीले केही दिनमै खोल्नेछ ।
प्रदीपले आईजी सर्वेन्द्र खनालसमक्ष साबिती बयान दिएको दावी गरिएको थियो । त्यसलगत्तै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अपराधी पक्राउ परिसकेको र केही दिनमै सार्वजनिक गरिने अभिव्यक्ति दिएका थिए ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा प्रदीपले सुरुमा हत्या गरेको साबिती बयान दिएका थिए । उनकै बयानका आधारमा पक्राउ परेका विशालले पनि घटनामा संलग्नता स्वीकारेका थिए । पछि दुवैले बयान फेरेको बताइएको थियो ।
यद्यपी प्रहरीले अरु सबै प्रमाण नष्ट गरिसकेकाले डिएनए रिपोर्टलाई नै आधार मानेर अनुसन्धान गर्दै आएको छ । यसपटक पनि रिपोर्टले साथ नदिएपछि सरकार थप अप्ठ्यारोमा परेको छ ।
परीक्षणमा दुवैको डीएनए निर्मलाको स्वाबसँग नमिलेपछि प्रहरी अनुसन्धान अलमलिएको छ । कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, बलात्कारको मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका दीलिपसिंह विष्टसहित २२ जनाको डीएनए परीक्षण गरिएको छ । तर ती कसैको डीएनए निर्मलाको स्वाबसँग नमिलेपछि अनुसन्धान झन् झन् जटिल बन्दै गएको छ ।
आईजी खनालले पनि निर्मला प्रकरणमा अनुसन्धानको दायरा साँघुरिएको यसअघि नै दाबी गरिसकेका थिए ।
प्रहरीले अहिलेसम्म डीएनए परीक्षण गरिएका २२ जनाको रिपोर्ट नेगेटिभ आएपछि निर्मलाको भजाइनल स्वाब संकलन विधि नै गलत भएको आशंका बढ्न थालेको छ ।
निर्मला प्रकरणमा प्रमाण मेट्न भूमिका खेलेको भन्दै बर्खास्ती कञ्चनपुरका तत्कालीन एसपी विष्ट र वडा प्रहरी प्रमुख इन्सपेक्टर जगदीश अझै अप्ठ्यारोमा पर्ने देखिएको छ । सोमबार निर्मलाकी आमा दुर्गादेवी र हत्याका मुख्य अभियुक्त बनाइएका दीलिपसिंहका दाजु खडकसिंह विष्टले उजुरी दिएपछि एसपी विष्ट र इन्स्पेक्टर जगदीशसहित ८ प्रहरी अझै अप्ठ्यारोमा पर्ने देखिएको हो । उजुरी कञ्चनपुर प्रहरीले मंगलबार दर्ता गरेको छ ।
दुर्गादेवीले हत्या प्रकरणमा एसपी विष्ट र इन्स्पेक्टर जगदीशले प्रमाण मेट्न मुख्य भूमिका खेलेको र अन्यले सघाएको आरोप लगाएकी छन् । दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुर र प्रहरीले त्यसबेला मुख्य अभियुक्त बनाएका दीलिपसिंहका दाजुले यातना कसुरअन्तर्गत जाहेरी हालेका हुन् ।
यी दुईसँगै तत्कालीन डीएसपी ज्ञानबहादुर सेट्टी, इन्स्पेक्टर एकिन्द्र खड्का, सइ हरिसिंह धामी, असइ रामसिंह धामी, हवल्दार चाँदनी साउद, इन्स्पेक्टर जगदीश भट्ट, सीआईबीका डीएसपी अंगुर जीसीले नक्कली प्रमाण खडा गर्ने, निर्दोषलाई जबर्जस्ती अपराध कबुल गराएकाले उनीहरूमाथि हदैसम्मको कारवाही माग गरिएको छ ।