Logo

ओली आक्रामक बने, पार्टीभित्रै वामदेवलाई सिध्याउने नयाँ रणनीति !



काठमाडौं, ४ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक जारी शनिबारदेखि जारी नै छ । बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको संयुक्त प्रतिवेदनमाथि छलफल पनि जारी छ । स्थायी समितिमा सचिवालय सदस्यसमेत रहेका नेता वामदेव गौतमले अध्यक्षद्धयको प्रस्ताव अपुरो रहेको भन्दै फरक मत दर्ज गराए ।

वामदेवले सरकार र ओलीविरुद्ध जेहाद नै छेडेका छन् । यो घट्नाले नेकपामात्रै होईन, सिँगो नेपाली राजनीति नै तरंगित बनेको छ । प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पार्न खोजिएको उनी निकट नेताहरुको गुनासो छ ।

वामदेवको पक्षमा नेताहरु भीम रावल, योगेश भट्टराई, टोपबहादुर रायमाझी, घनश्याम भुषाल, रघुजी पन्त, सुरेन्द्र पाण्डेलगायतका नेताहरु नै खुलेर लागेका छन् । उनीहरुले पनि ओलीको कार्यशैलीको विरोध गरेका छन् ।

एकपछि अर्को गर्दै ओलीको विरुद्धमा नेताहरु उत्रिनुमा ओली पक्षले वामदेवलाई नै कारण मानेका छन् । ओलीलाई काम गर्न नदिने षडयन्त्र वामदेवले रचेको ओलीनिकट नेताहरुको गम्भिर आरोप छ । ओलीविरुद्ध वामदेवले मोर्चाबन्दी कसेको र विरोधको तामझाम नै देखाएको ओली पक्षधरको निश्कर्ष छ ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतले दिएको जानकारीअनुसार अब ओलीले पनि वामदेवलाई सिध्याउने नयाँ रणनीति बुनेका छन् । उनले बरु बरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनालसँग मिल्ने तर वामदेवलाई पेलेरै जाने रणनीति बनाएका छन् ।

वामदेवले आफूलाई पहिला जसरी दुःख दिएका थिए अहिलेपनि सोही स्तरमा विरोध गरेको ओलीको ठहर छ । वामदेवको उक्त प्रवृत्ति अन्त्य गर्नुपर्छ भन्ने ओलीको अडान रहेको उनी निकट एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्