Logo

इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्ने तयारी भैरहेको छ : प्रधानमन्त्री ओली



काठमाडौं, ५ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल इन्जिनियर्स एशोसिएसनको अधिवेशनबाट विजयी भएकाहरुलाई बालुवाटारमा आज बधाइ दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्ने तयारी गरेको पनि जानकारी दिए । उनले भने, देश निर्माणका हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका भएका इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक छ, कोही बेरोजगार छ भन्दैमा उसलाई न्यून वेतनमा काम लगाउन पाइदैन । यो अवस्थाको अन्त्य गर्छौं ।”

उनले प्रगतिशिल इन्जिनियरस् एशोसिएसनले अध्यक्ष सहित बहुमत स्थानमा विजयी हासिल गरेकोमा बधाइ दिंदै यो विजयलाई देश निर्माणको डिजाइनमा उपयोग गर्नुपर्ने बताए ।

सरकारले ठिक ढंगले काम गरिरहेको पनि उनको दाबी छ । ओलीले थपे,“हामी समयलाई गाल्ने पक्षमा छैनौ, पाँच बर्षमा यसरी काम गर्छौं कि अर्को पटक दुई तिहाइ जनताले हामीलाई मत दिनेछन् ।”

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेल, नेतृ पम्फा भुषाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतको उपस्थिति रहेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्