पुष ९, काठमाण्डौ । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महासमिति बैठकले उपलब्धि हासिल गरेको जिकिर गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै बस्नेतले संविधानअनुसारको पार्टीको विधान संशोधन गर्नु महत्वपूर्ण उपलब्धि भएको बताएका हुन् ।
संविधानअनुसार पार्टीको संगठन बनाउँदा केन्द्रिय समितिको आकार विगतमाभन्दा ठूलो भएकाले यसलाई अनौठो मान्न नहुने बताए । “अहिले पनि अरु दलको तुलनामा कांग्रेको कार्यसमिति सानो छ । यो कसैको फाइदाका लागि होइन, आवश्यकताअनुसार भएको हो ।” बस्नेतले भने ।
समावेशी सिद्धान्तको संविधानलाई टेकेर पार्टीको विधान बनाइएको उनले बताए । कांग्रेसभित्र हिन्दुराष्ट्रको विषयमा बहस सुरु भएको स्वीकार गर्दै बस्नेतले यसलाई सामान्य रुपमा लिनुपर्ने बताए ।
ज्नताको चाहनाविपरित नै संविधानमा धर्म निरपेक्षता राखिएको दावी गर्दै बस्नेतले जनमतको चाहना र मागलाई स्वीकार गर्नुपर्ने बताए । “धर्म निरपेक्षता जनआन्दोलनको माग होइन । तर कांग्रेसभित्र छलफल हुँदैमा कम्युनिष्टहरु आत्तिनुपर्दैन ।” उनले भने ।
बस्नेतले कांग्रेसभित्र हिन्दुराष्ट्रको माग उठे पनि पार्टीले यसको पक्षमा निर्णय नगरेको स्मरण गराए ।