पुष ९, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७४–७५ मा १९ हजार ४ सय ८८ उजुरी परेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाईएको २८ औं वार्षिक प्रतिवेदनका बारेमा जानकारी दिन सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे अख्तियारले आर्थिक वर्ष २०७४–७५ मा आयोगमा १३ हजार १३ र मातहतका कार्यालयहरूमा ६ हजार ४ सय ७५ उजुरी परेको जनाएको हो । पत्रकार सम्मेलनमा अख्तियार प्रवक्ता रामेश्वर दंगालले अख्तियारले आर्थिक वर्ष २०७४–०७५ मा परेका उजुरीमध्ये सबैभन्दा बढी शिक्षासँग सम्बन्धित १८ दशमलव ३२ प्रतिशत रहेको बताउनुभयो ।
शिक्षापछि संघीय मामिलासँग सम्बन्धित उजुरीको संख्या १८ दशमलव ०२ प्रतिशत, भूमि सम्बन्धी उजुरी ६ दशमलव ४८ प्रतिशत, वनसँग सम्बन्धित उजुरी ४ दशमलव ४८ प्रतिशत रहेका छन् । त्यस्तै स्वास्थ्य सेवासँग सम्बन्धित उजुरी ४ दशमलव ३७ प्रतिशत, गृह प्रशासनसम्बन्धी उजुरी ४ दशमलव १३ प्रतिशत छन् । यस आर्थिक वर्षमा आयोगबाट १ सय ९४ वटा मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णय भएको प्रवक्ता दंगालले बताउनुभयो ।
आर्थिक वर्ष २०७४–७५ मा सेवाग्राहीहरूको घुससम्बन्धी उजुरीका आधारमा गरिएका ९७ वटा रङ्गेहात कारबाहीहरूमा सहसचिवदेखि सहायकस्तरसम्मका १ सय ५४ जना राष्ट्रसेवक तथा अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान एवं अभियोजन गरिएको अख्तियारले जनाएको छ । अख्तियारबाट विगतमा विशेष अदालतमा दायर भएका मुद्दाहरूमध्ये आर्थिक वर्ष २०७४–७५ मा १ सय ७४ वटा मुद्दाहरूको फैसला प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । अख्तियारले सोमबार नै २८ औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको थियो ।