Logo

ओलीले ३ घण्टा लगाएर जवाफ दिए, तर सदस्यहरुलाई चित्त बुझेन



काठमाडौं, १२ पुस । आज सकिने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक भोलिसम्मको लागि लम्बिएको छ । आज अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेर राजनीतिक प्रतिवेदन पारित हुने अपेक्षा गरिएको थियो ।

तर, अध्यक्ष ओलीले तीन घण्टा लामो जवाफ दिँदापनि सदस्यहरुले आफूहरुलाई चित्त नबुझेको भनेर हात उठाएपछि बैठक भोलि विहान ८ बजेसम्म लम्बिएको एक नेताले जानकारी दिए ।

बैठकमा अध्यक्ष ओलीले सरकारको बचाउ गरेका थिए । उनले सरकारले धेरै राम्रो काम गरेको भन्दै यसको बचाउमा उत्रिन सदस्यहरुलाई निर्देशन दिएका थिए । उनले वर्तमान सरकारले वैदेशिक सम्बन्धमा पनि उल्लेख्य सुधार गरेको, विकास निर्माणका कामहरुलाई गति दिईएको, सुशासन र सुरक्षाको वातावरण बनाएको भन्दै सरकारले राम्रो काम गरेको फेहरिस्त सुनाएका थिए ।

तर, उनको जवाफमा अधिकांश नेताहरु सहमत हुन सकेनन । भीम रावलले त ओली बोल्दाबोल्दै उठेर सरकारले केही पनि राम्रो काम नगरेको भन्दै कडा रुपमा आलोचना गरे । उनले ओलीको जवाफको तुरुन्त खण्डन गरेको स्रोतले जनाायो । रावलले आजपनि एशिया प्यासिफिक समिटमा सरकारको सहभागितालाई लिएर प्रधानमन्त्री ओलीलाई कडा प्रश्न गरेका थिए । उनले यसबारेमा ओलीले जवाफ दिनुपर्ने अडान लिएका थिए ।

तर, जवाफमा ओलीले आफूले नियतबस कुनै निर्णय नगरेको जिकिर गरे । आज राजनीतिक प्रतिवेदन पास हुन नसक्नुमा भीम रावलको असन्तुष्टि नै मुख्य रहेको बुझिएको छ । नेताहरु वामदेव गौतम र घनश्याम भुषालले पनि ओलीको जवाफ चित्तबुझ्दो नभएको प्रतिक्रिया र टिप्पणी दिएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्