पुष १३, काठमाण्डौ । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले महासमिति बैठक सफलतापूर्वक सम्पन्न गरेपछि पार्टी एकढिक्का भएर अगाडि बढेको दावी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले शीर्ष नेताहरुको एकताले कार्यकर्तामा पनि उत्साह थपिएको बताए ।
पार्टी एकढिक्का भएर केपी ओली नेतृत्वको तानाशाही सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको यादवले बताए । सरकार देश र जनतालाई ढाँटेर अगाडि बढिरहेको उनले बताए ।
“शान्ति सुरक्षा छैन, भ्रष्टाचार मौलाएको छ, सडकमा सुरक्षित भएर हिँड्न सक्ने अवस्था छैन ।” यादवले भने ।
वाइडबढी खरिद र ३३ किलो सुन प्रकरणमा सरकार नै मुछिएको यादवले जिकिर गरे । ५० अर्वभन्दा बढि मूल्यको ठेक्कापट्टा प्रधानमन्त्री एक्लैले दिन पाउने व्यवस्था गरिएको भन्दै यादवले आपत्ति जनाए ।
प्रधानमन्त्री र मन्त्रीहरु नै भ्रष्टाचारमा लिप्त भएको उनको आरोप छ । सबैजसो मन्त्रालयको प्रगति विवरण शुन्य रहेको यादवको दावी थियो ।
पार्टीभित्र शेरबहादुर देउवाको राजिनामा माग्ने वा विरोध गर्नुको अब औचित्य नरहेको यादवले बताए । महासमिति सदस्यहरु कसैले पनि सभापतिको राजिनामा नमागेको भन्दै उनले अव अरु नेताहरुले विरोध गर्नुको अर्थ नरहने बताए ।
त्यसैगरी देउवाको नेतृत्व पूर्ण रुपमा सफल भएको पनि यादवले बताए । आगामी महाधिवेशनमा पनि देउवाकै जित हुने यादवको दावी छ ।
देउवा प्रधानमन्त्री हुँदा ल्याइएका लोकप्रिय कामलाई कार्यान्वयन नगरेर अहिलेको सरकारले गाडी खरिदलाई प्राथमिकता दिएको भन्दै यादवले आपत्ति जनाए ।