Logo

प्रधानन्यायधीश बन्दै गरेका चोलेन्द्र को हुन् ?



पुष १७, काठमाण्डौ । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि चोलेन्द्रलाई अब राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । चोलेन्द्र चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।

लामो समयपछि सर्वोच्च अदालतले चार वर्षसम्मका लागि नफेरिने गरी प्रधानन्यायाधीश पाएको छ । को हुन् त अबका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ।

नेपालको खानदानी राणा परिवारका सदस्य चोलेन्द्र समशेर जबरा राणा प्रधानमन्त्री वीरसमशेरका चौथो पुस्ताका सन्तान हुन् । उनी वीर समशेरका पनाति हुन् । जंगबहादुर राणा मरेपछि उनका भाइ रणोद्दीप सिंह केही समय श्री ३ महाराज प्रधानमन्त्री भए । तर, धीर समशेरका १७ भाइ छोराको धैर्य टुटेपछि उनीहरुले काका रणोद्दीपको हत्या गरी शासनसत्ता कब्जा गरेका थिए । त्यसपछि जेठा वीर समशेर प्रधानमन्त्री तथा श्री ३ महाराजा भए । उनै वीर शमसेरका छोरा इन्द्र समशेरका नाति हुन् चोलेन्द्र शमसेर जबरा ।

चोलेन्द्रका पिता युवराज शमसेर राजसभा स्थायी समितिका सदस्य थिए । वकालत गर्दागर्दै चोलेन्द्र ०५३ बैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए । लामो समय अस्थायी न्यायाधीश भएका उनी स्थायी न्यायाधीश बनेपछि विशेष अदालतको सदस्य पनि भए । पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उनी ०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् ।

उनी सन् १९९६ देखि पुनरावेदन अदालत हुँदै न्यायालयमा प्रवेश गरेका हुन् । सुकेधारा गणेशगौरी मार्गका स्थायी बासिन्दा राणाले कानूनमा स्नातक (डीएल) सम्म अध्ययन गरेका छन् । उनले सन् २०१३ मा कोरियामा न्यायालयको विकास सम्बन्धी ट्रेनिङसमेत लिएका छन् । यदि दीपकराज जोशी प्रधान न्यायाधीश हुन पाएका भए राणाको कार्यकाल तीन वर्षको मात्र हुने थियो । तर, जोशी संसदीय सुनुवाइबाट यसअघि नै अस्वीकृत भएर ओमप्रकाश मिश्र करीव चार महिना प्रधानन्यायाधीश हुने अवसर पाएकाले राणालाई थप एक वर्ष न्यायपालिकाको नेतृत्व गर्ने अवसर प्राप्त भएको हो ।

राणाले आफ्नो चार वर्षे कार्यकालमा न्यायपालिकाको बिग्रेको छवि सुधार्ने चुनौति पाएका छन् । विगतमा कतिपय आदेश र फैसलाका कारण राणा आफैं पनि विवादमुक्त छैनन् । अब उनको असली परीक्षण शुरु हुनेछ ।

पछिल्लो समय सुशीला कार्कीको महाअभियोग प्रकरणका बेला भावुक भएर निर्णय सुनाएका कारण चर्चा पाएका थिए । पुनरावेदन अदालत, विराटनगरमा छँदा राणाले म्यारिज जुवा होइन भनेर विवादास्पद फैसला गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्