Logo

आङछिरिङ शेर्पाको अर्को ब्रम्हलुट : नेपाल ट्रष्टको जग्गा सस्तैमा फुत्काए



काठमाडौं, २ माघ । पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रभावमा पारेर नारायणहिटी दरबार संग्रहालय अगाडि रहेको नेपाल ट्रष्टको जग्गा सस्तोमा लिजमा लिन सफल भएका छन् ।

ट्रष्टले ब्यापारीलाई फाइदा हुनेगरि निकै सस्तो दरमा उक्त जग्गा लिजमा दिएकोबारे सत्तारुढ दल नेकपाभित्रै अहिले विवादको विषय बनेको छ । स्रोतका अनुसार अब बस्ने पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा यो विषयलाई बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले जोडदारसँग उठाउने तयारी गरेका छन् ।

काठमाडौंको मुख्य व्यापारिक केन्द्र मानिएको दरबारमार्गमा रहेको ३० आना जग्गा ट्रष्टले आफ्नै आर्थिक प्रस्ताव मूल्यांकन समितिले सिफारिस गरेभन्दा ४ अर्ब ८६ करोड रुपैयाँ कममा लिजमा दिएको प्रमाण बाहिरिएपछि नेता नेपाल र खनालले यो विषयलाई पार्टीमा जोडदार रुपमा उठाउने तयारी थालेका छन् । प्रधानमन्त्री ओलीकै ठाडो आदेशमा शेर्पालाई यति सस्तोमा बहुमुल्य जग्गा लिजमा दिईएको भन्दै पार्टीका अन्य सदस्यहरुको पनि कडा असन्तुष्टि रहेको छ ।

उक्त जग्गामा शेर्पाको थामसेर्कु ट्रेकिङ कम्पनीले अहिले धमाधम व्यापारिक भवन निर्माण गरिरहेको छ । थामसेर्कुले ट्रष्टसँग ३० वर्षका लागि जग्गा लिजमा लिएको हो । लिजवापत थामसेर्कुले ट्रष्टलाई मासिक ३७ लाख ४९ हजार ९ सय ७२ रुपैयाँका दरले ३० वर्षमा १ अर्ब ५९ करोड ४० लाख ५२ हजार रुपैयाँ भाडा बुझाउनुपर्छ ।

भवन बनाउँदा लाग्ने साढे १९ करोड रुपैयाँ भने ट्रष्टले व्यहोर्ने २०७४ जेठ १४ गतेको सम्झौतामा छ । तर, ट्रष्टकै आर्थिक प्रस्ताव मूल्यांकन समितिले भने यो जग्गा ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार रुपैयाँमा लिजमा दिन सिफारिस गरेको थियो । सिफारिस उल्लंघन गर्दै ट्रष्टले ४ अर्ब ८६ करोड रुपैयाँ कममा थामसेर्कुलाई दिएको कुरा मिडियामार्फत बाहिर आईसकेको छ ।



प्रतिक्रिया दिनुहोस्