Logo

उपेन्द्र महतोले भने : ‘नेपालबाट एक डलर पनि विदेश लिएर गएको छैन’



काठमाडौं, ४ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विदेशमा लुकाउनका लागि आफूले नेपालबाट एक डलर पनि नलगेको स्पष्ट पारेका छन् ।

खोज पत्रकारिता केन्द्रको केही दिन अघिको नेपालिक्समा विदेशमा अर्बौँ रुपैयाँ लुकाउने नेपालीमध्येको सूचीमा आफ्नो नाम पनि आएपछि महतोले शुक्रबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै विदेशमै कमाइ गरेको पैसा त्यतै जम्मा गरेको जिकिर गरेका हुन् ।

महतोले आफू लामो समयदेखि विदेशमा रहेका नेपालीको लगानी मातृभूमिमा ल्याउने काममा सक्रिय रहेको बताउँदै महतोले आफूले गरेको लगानी पनि विदेशबाटै ल्याएको बताएका छन् ।

‘मैले नेपालमा गरेको लगानी पनि विदेशबाटै ल्याएको हुँ र अझै ल्याउने दृढ संकल्प र समर्पणका साथ काम गरिरहेको छु’, महतोले भने, ‘मैले नेपालमा जे/जति लगानी गरेको छु, नेपालीकै नाताले लगानी गरेको छु । नेपालमा कुनै पनि परियोजनामा मैले विदेशीको नाताले लगानी गरेको छैन ।’

महतोले आफूले आजसम्म विदेशबाट जति लगानी ल्याए पनि नेपालबाट एक डलर पनि नलगेको पनि बताए । ‘न विदेशमा जम्मा गर्न न विदेशमा लगानी गर्नका लागि, न त रेमिट्यान्सका रुपमा नेपालबाट एक डलर पनि लिएर गएको छैन’, महतोले भनेका छन्, ‘म अन्तर्राष्ट्रिय व्यापार–व्यवसायमा छु । म व्यवसायमा भएको हुनाले मेरो परिवार खासगरेर भाई डा. विरेन्द्र प्रसाद महतो र बहिनी जुली कुमारी महतोको नाम जोडिदिँदा मलाई दुःख लागेको छ ।’



प्रतिक्रिया दिनुहोस्