माघ ९, काठमाण्डौ । सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको द्वन्द्वका कारण मंगलबार प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भयो ।
तेस्रो पटकका बोलाइएको बैठक बस्नै सकेन । सभामुख कृष्णबहादुर महराले दोस्रो बैठक सुरु भएको घोषणा नगर्दै कांग्रेस सांसदहरु आफ्नो कुर्सीबाट उठेर रोष्टमतिर गएका थिए । त्यसपछि कांग्रेस र सत्तारुढ दलका सांसदबीच ठेलमठेल भयो ।
रोष्टम घेराउ गरिरहेका कांग्रेसका सांसदहरुलाई बेवास्ता गर्दै सभामुख कृष्णबहादुर महराले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेस गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिए । पोखरेललाई नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका सांसदले रोष्टमसम्म र्पुयाउने प्रयास गरेपनि उनी असफल भए । कांग्रेस र नेकपाका सांसदहरुबीचको ठेलमठेलले मन्त्री पोखरेल बीच मै रोकिए । पछि फर्किएर आफ्नै कुर्सीमा गए ।
कांग्रेसको विरोध र सरकारको पेलानका बारे प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा नेकपाका नेता सोमप्रसाद पाण्डे, नेपाली कांग्रेसका नेता दिपक खड्का र अधिवक्ता तथा अनसनरत गोविन्द केसीका समर्थन ओमप्रकास अर्यालसँग ऋषि धमलाले कुराकानी गरेका छन् ।
कुराकानीका क्रममा नेकपा नेता पाण्डेले संसदमा कांग्रेसले गैर जिम्मेवारीपन देखाएको आरोप लगाए भने कांग्रेस नेता खड्काले दुई तिहाइको दम्भ देखाएर सरकारले यसरी नै पेलेर जाने हो भने दुर्घटना हुन सक्ने चेतावनी दिए ।
त्यसैगरी अर्यालले केसीको माग पूरा नभएसम्म समस्या समाधान नहुने जिकिर गरे ।