Logo

कसरी पारित भयो विधेयक ? अब कांग्रेस र केसी के गर्लान् ?



माघ ११, काठमाण्डौ । गत सोमबारदेखि संसदमा देखिदै आएको तनावको दृष्य शुक्रबार पनि दोहोरियो । प्रतिपक्षी दल कांग्रेसले आफ्नो बल बुताको प्रयोग गरेर सोमबार र मंगलबारको बैठक स्थिगित गरायो । तर, शुक्रबार भने कांग्रेसको केहि सिप चलेन । सभामुख कृष्णबहादुर महरा नै विपक्षीलाई पेल्ने रणनीतिका साथ प्रस्तुत भएपछि नाराबाजी गरिरहेको कांग्रेस करिव निरिह जस्तै देखियो ।

उसको नाराबाजी र अवरोधले कुनै काम गरेन । सभामुख र सत्तापक्ष दल मिलेपछि अन्नतः संसदबाट जबरजस्ती नै चिकित्सा शिक्षा विधेयक पारित गरिएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक करिब १ घण्टा ढिला गरि सुरु भयो । सभामुखले बैठक सुरु भएको घोषणा गरे लगतै कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाए ।

सभामुख महराले कांग्रेस सांसदहरुलाई बस्नका लागि पटक पटक आग्रह गरेपनि उनीहरुले टेरेनन् । कांग्रेस सांसदहरु उभिरहेपछि सभामुख महराले कांग्रेस नेतृ पम्फा भुसाललाई बोल्ने समय उपलब्ध गराए । भुसालले करिब १५ मिनेट बोलिन । त्यस लगतै कांग्रेस सांसदहरु रोष्टम घेराउ गर्न अघि बढे । उनीहरुले चिकित्सा शिक्षा विधेयक फिर्ता लिन माग गर्दै नाराबजी सुरु गरे । यो क्रम करिब १५ मिनेट चल्यो ।

निकै बेरको नाराबाजी पछि विपक्षी दलका सांसदहरुलाई बस्न आग्रह गर्दै उनले नबसे कारबाही गर्ने चेतावनी दिए । कारबाही गर्ने सभामुखको चेतावनीलाई वेवास्ता गर्दै विपक्षी दलका सांसदहरुले लगतार नाराबाजी गरीरहे । सामान्यतया ५ मिनेट भन्दा बढि समय यसरी नाराबाजी भएपछि संसद बैठक रोक्ने वा विपक्षी दललाई मनाउने प्रचलन हुन्छ । तर, सभामुख महराले यो दुबै काम गरेनन ।

करिब १५ मिनेटसम्म लगातार संसदमा नाराबाजी हुँदा पनि बैठक रोकिएन । कांग्रेसका सांसदहरुको नाराबाजीका बीच सभामुख महराले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्नका लागि शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई अनुमति दिए । सभामुखको अनुमति पछि संसदमा नाराबाजी झनै चर्कियो । तर, यो नारा विपक्षीको अवरोध झेल्दै शिक्षामन्त्री पोखरेल मर्यादापालक र सत्तारुढ दलका सांसदको सहयोगमा ड्यासमा पुगे ।

र, बिधेयक पेश गरे । निकै घम्साघम्सीकाबीच बिधेयक पेश भएको १० मिनेट पनि नलगाइ सभामुख महराले विधेयक पारित गरिदिए । जम्मा ७ मिनेट ५८ सेकेन्डमा विधेयक छलफलका लागि पेश हुनेदेखि पारित गर्नेसम्मको काम भयो ।

निकै हतारो र उल्टो पाल्टो गरि पारित गरिएको यो विधेयक मान्य हुन्छ की अमान्य ? यो विषयमा सभामुख र संसद सचिवालयले नै जवाफ देलान । तर, सरकार र सभामुखले संसदमा देखाएको हेपाहा प्रवृतिलाई भने धेरै निको लागेको छैन । अझै जबरजस्ती ल्याइएको बिधेयकको सवत्र्र विरोध भइरहेको छ । यसकै विरोधमा डा गोविन्द केसी १७ दिनदेखि आमरण अनसन बसिरहेका छन् ।

विधेयक पारित भएपछि डा. केसीले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी ओलीको राजिनामा मागेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आफ्नो नाराबाजीसहितको अवरोधका बीच ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ पारित गरेकोमा आपत्ति जनाउँदै सरकार र सभामुखप्रति आक्रोश व्यक्त गरेको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सो विधेयक पारित गराएर कम्युनिष्ट अधिनायकवादी चरित्र देखाएको भन्दै आपत्ति जनाएका छन् ।

विधेयक पारित भएपछि संचारकर्मीमाझ उनले जबरजस्ती विधेयक पारित गराएर सभामुख कृष्णबहादुर महराले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

सभामुखजस्तो निष्पक्ष भूमिकामा रहनुपर्ने सभामुखले जब्बरजस्ती सो विधेयक पारित गराएको सभापति देउवाको आरोप छ ।

इता सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले भने चिकित्सा शिक्षा विधेयक पास हुनुलाई क्रान्तिकारी फड्को भएको बताएका छन् ।

संसद बाहिर सञ्चारकर्मीसंग उनले देशले क्रान्तिकारी फड्को मारेको र सबैले खुशीयाली मनाउनुपर्ने बताए ।

भट्टराईले विधेयक पास भएकोमा उत्साही हुनुपर्ने बताउँदै प्राध्यापक डाक्टर गोविन्द केसीका माग विधेयकले सम्बोधन गरेको दावीसमेत गरे ।



प्रतिक्रिया दिनुहोस्