काठमाडौं, २१ माघ । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट बनेको छ । सरकार गठन भएको एक वर्ष बित्न लाग्दापनि संविधान संशोधन प्रक्रिया अघि नबढाएकोमा फोरम प्रधानमन्त्री ओलीसँग रिसाएको हो ।
यसको प्रत्यक्ष प्रभाव अहिले सरकारमा सहभागी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र ओलीबीचको सम्बन्धमा तित्तताले पुष्टि गर्छ । उपप्रधान एवम् स्वास्थ्यमन्त्रीसमेत रहेका अध्यक्ष यादव र ओलीबीच पछिल्लो समय सम्वाद नै हुन नसकेको स्रोतको दाबी छ ।
सरकारमा सहभागी हुनुको मुख्य उद्देश्य नै संविधान संशोधन गराउनु भनेर पटक पटक यादवले सार्वजनिक रुपमा बोलेका भएपनि अहिलेसम्म त्यो पुरा गराउन सकेका छैनन् । यादवलाई तत्काल संविधान संशोधन नभए सरकारबाट बाहिरिन समेत नेता तथा कार्यकर्ताले सुझाएका छन् । संविधान संशोधनपनि गराउन नसक्ने अनि सरकारमा पनि झुण्डिरहने हो भने ठीक नहुने भन्दै मधेशी जनताले यादवलाई चेतावनी दिईसकेका छन् ।
पछिल्लो समय ओलीलाई यादवले भेटेर तत्काल संशोधन प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । तर, ओलीले यसमा खासै चासो देखाएका छैनन् । प्रधानमन्त्रीले हालै संसदमा सम्बोधन गर्दै संविधान संशोधन आवश्यकत्ता र औचित्यको आधारमा मात्रै हुन्छ भनेर पूरानै अडान दोहोर्याएका छन् ।
यादव ओलीसँग रिसाउनुको अर्को कारण हो आफ्नो पार्टीका सांसद हरिनारायण रौनियारको निलम्बन फुकुवा नगर्नु । यादवले हालै पार्टीको संसदीय दलको बैठक डाकेर रौनियारको निलम्बन फुकुवा गराउन आफूले दबाब दिने प्रतिबद्धता जनाईसकेका छन् ।
ओलीसँग बिच्किएका यादवको नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भने केमेष्टी मिलेको पाईन्छ । उनीहरुबीच नियमित सम्वाद भैरहेको प्रचण्डनिकट उच्च स्रोतको दाबी छ । फोरम र नेकपाबीच पार्टी एकता नै गराउने तहसम्म प्रचण्डले यादवसँग छलफल तथा परामर्श गरेको बुझिएको छ । यादवपनि एकताको लागि तयार छन् । तर, उनले सह अध्यक्ष दिनुपर्ने माग राखेका छन् ।