फागुन ३, काठमाण्डौ । घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिए । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार लुकाउन एउटा पक्षसँग ७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न उनले राजीनामा दिएका हुन् ।
पाठकविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महाअभियोग लगाउने तयारी गरिसकेको थियो । तर, महाअभियोग नलाग्दै उनले राजीनामा दिएर महाअभियोगबाट बचेँ । तर उनलाई अब भ्रष्टाचार गरेबापत कानुनी कारबाही गर्नुपर्ने आवाज चर्को उठेको छ ।
घुसकाण्डमा मुछिएसँगै उनका अनेक किस्सा सार्वजनिक भइरहेका छन् । कांग्रेसको कोटाबाट अख्तियारको आयुक्त बनेका उनी निकै लोभी थिए । पैसाका लागि एकै हजार पाए पनि नछाड्ने पाठक स्त्रीलम्पटसमेत रहेको खुलासा भएको छ ।
आर्थिक रुपमा फाइदा लिन चाहनेहरुले पाठकलाई प्रयोग गर्ने गर्थे । अरुलाई भ्रष्टाचारको मुद्धा लगाएर जेल हाल्ने जिम्मेवारी पाएको एउटा जिम्मेवार व्यक्ति आफै भ्रष्ट भएको सार्वजनिक भएपछि उनी अहिले निकै चिन्तामा छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घूस उठाउन राजधानीको तीनकुनेस्थित एक घरमा ‘अखडा’ खडा गरेको खुलासा भएको छ ।
पाठकले निजामती प्रशासनका केही व्यक्तिलाई त्यहाँ राखेर विभिन्न पक्षसँग मोलमोलाइ गर्ने र रकम उठाउने गरेको अख्तियारकै स्रोतले दावी गरेको छ ।
पाठकका मतियारहरु अन्य निकायमा पनि थिए । पाठकको इसारामा चल्नेहरु नापी विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि रहने गरेको आशंका गरिएको छ ।
अर्को रोचक पक्ष त के छ पाठकको जुन भिडियो सार्वजनिक भएपछि उनीमाथि भ्रष्टाचारको आरोप लाग्यो, उक्त भिडियो प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही उच्च पदस्थहरूले करिब ४ महिनाअघि नै हेरिसकेका थिए । तर उनीहरू चुपचाप बसेका थिए ।
भिडियो प्रकरणको घटना डेढ वर्षअघिको भएको बताइएको छ । प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासमक्ष पनि यो सूचना पहिले नै पुगेको दावी गरिएको छ ।
यो घटना सार्वजनिक भएर आफूहरूकै नैतिकतामाथि प्रश्न उठ्ने देखेपछि बल्ल नेताहरू महाभियोग लगाउनेसम्मको अभिव्यक्ति दिन थालेको बताइएको छ ।
जे जसो भए पनि अब पाठकको कर्तुत सार्वजनिक भइसकेको छ र राजिनामा दिएर उम्कने प्रयासमा छन् । तर, भ्रष्टाचार जस्तो जघन्य विषयमा महाअभियोग वा राजिनामालाई भ्रष्टाचारी उम्कने बाटो बन्न दिन नहुने आवाज उठिसकेको छ ।
को हुन् पाठक ?
२०१४ साल बैशाखमा महोत्तरीमा जन्मेका पाठक शान्तिनगर, काठमाडौंमा बस्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका उनी अख्तियारमा जानुअघिसम्म नजराना लिने सरकारी वकिलका रुपमा परिचित थिए ।
०३९ सालमा शाखा अधिकृतबाट करिअर सुरु गरेका उनी ०४९ सालमा उपन्यायाधिवक्ता बने । ०५४ सालमा सहन्यायाधिवक्तामा बढुवा भए भने ०६६ सालमा नायब महान्यायाधिवक्तामा बढुवा भए ।
०७१ सालमा पाठकलाई आयुक्त बनाउन कार्कीले पनि सहयोग गरेका थिए ।
वास्तवमा अख्तियारमा आयुक्त हुन पाउनु भनेको स्वर्ग जस्तै हो । त्यहाँ बसेर देश लुट्ने भ्रष्टलाई कारबाही गर्न सक्ने हो भने स्वर्ग कै अनुभूति नहोला भन्न सकिन्न । तर पाठकले स्वर्ग छाडेर नर्क रोजेर अन्ततः पतन हुने अवस्थामा पुगे ।