फागुन ५, काठमाण्डौ । संसदिय समितिको निर्णयमाथी नै प्रश्न उठाउँदै सरकारले वाइडबडी छानविन समिति गठन गरेको ४५ दिन बढी भयो । संसदिय प्रक्रियामाथीको सरकारी हस्तक्षपबाट गठित समितिले अहिलेसम्म बैधानिकता नपाउदा र छानविनको काम सुरु नगर्दा वाइडबढी भ्रष्टाचार काण्ड थप रहश्यमय बनेको छ ।
संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाल बायुसेवा निगमको दुई वटा वाइडबडी खरिद प्रकरणमा चार अर्व ३५ करोड अनियमितता भएको भन्दै कारवाही गर्न सरकारलाई निर्देशन दियो । थप अनुसन्धानका लागि भन्दै समितिको पत्र पुस २६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुग्यो । तर, सरकारले संसदीय समितिको निर्णयमा प्रश्न उठाउदै आफैले ४५ दिनको समयसिमा दिएर छानविन समिति गठन ग¥यो ।
समितिको म्याद काम सुरु नै नगरी शनिबार सकिएको छ । वाइडबडी अनियमितता बारेको सत्यतथ्य बुझेर छानविन प्रतिवेदन दिन भन्दै आयोग गठन गरेको सरकारले अध्यक्ष र सदस्यलाई अझसम्म नियुक्ती नै दिएको छैन । बरु समितिलाई बैद्यानिकता दिन छाडेर सरकारले पटक–पटक छानविनको काम भैइरहेको बताएर सबैलाई झुक्याउने काम गरेको छ ।
पुस १९ मा गठित वाइडबडी छानविन समितिले कामै सुरु नगरी ४५ दिने म्याद गुजारेको बारे सरकारले कुनै प्रतिक्रिया दिएको छैन् । उपसमितिले १८ पुसमा समितिमा पेस गरेको प्रतिवेदनमाथि छलफलसमेत नभई छानविन आयोगले बैद्यानिकता गुमाउनुले सरकारले अनियमितता लुकाउन खोजेको आरोप कतै सहि त थिएन भन्ने प्रश्न उब्जाइदिएको छ । अर्कोतिर सार्वजनिक लेखा समितिले वाइडबडी अनियमितताबारे एक महिनाभित्र प्रगति बिवरण बुझाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पुस २६ गते पत्र पठाएको थियो । दुई साता पुग्दा पनि अख्तियारले यसबारे कुनै जवाफ पठाएको छैन् । यो प्रकरणमा सत्तारुढदेखी प्रतिपक्षसम्म तै चुप मै चुप छन् ।
लेखा समिति अख्तियारको छानविन विबरण कुरिरहेको छ । तत्काल कारवाहीका लागि सिफारिस गरिएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार अहिले पनि उही कुर्सीमा छन् । न अख्तियारले अनुसन्धान थालेको छ, न सरकार आफैले बनाएको छानविन समितिले भनिएको जिम्मेवारी पुरा गरेको छ ।
संसदमा केही दिन वाइडबडीको बिषय उठाएर चर्को स्वरमा खबरदारी गरेका प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरु सभापति शेरबहादुर देउवाको समेत नाम जोडिएपछि चुपचाप छन् । प्रतिपक्षको आवाज कमजोर भएको पछिल्लो अवस्थाले सरकार तत्कालका लागि अनियमितता थामथुम पार्न केन्द्रित भएको मात्रै छैन, वाईडबडी माथीको अनियमितता थप रहस्यमय भैरहेको छ ।