काठमाडौं, ६ फागुन । राप्रपाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा हिन्दूराष्टको पक्षमा आउने दाबी गरेका छन् ।
आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
त्यस्तै, थापाले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहबाट एक रपैयाँ पनि पैसा नलिएको स्पष्ट पारेका छन । आफ्नो पार्टीले सुरु गर्ने अबको आन्दोलन कुनै पनि पार्टीको विरुद्धमा नहुने पनि थापाले स्पष्ट पारे । उनले भने,”हाम्रो आन्दोलन सरकारको विरुद्धमा पनि होईन, बास्तवमा दश वर्षको सशस्त्र जनयुद्धको क्रममा हजारौं नेपालीहरुको मर्ने मराउने काम भयो । अरबौंको सम्पत्ति नष्ट भयो । त्यसपछि अर्को १२ वर्ष हामीले राजनीतिक संक्रमणमा बितायौं । नयाँ संविधान जारी भयो । नयाँ संविधानअनुसार सरकार पनि गठन भयो । एक वर्ष पुरा भएको छ । यति लामो त्याग र परीवर्तनपछि पनि नेपाली जनताले परिवर्तनको अनुभुति गर्न पाएका छैनन् । यस बिचमा हिन्दुराष्टको पहिचान समाप्त भयो । राजसंस्था पाखा लगाईयो । संघीयताको विजारोपण भयो । तर पनि जनताले सकरात्मक परिवर्तनको अनुभुति गर्न नपाएको हुँदा यो असफलता केबल व्यक्ति वा पार्टीको मात्रै नभएर विगत १२ वर्षदेखि मुलुकले अवलम्बन गर्दै आएको नीति, व्यवस्था र मार्गचित्रमा नै त्रुटि देखिएको हुँदा त्यसलाई सच्याउने, र ती त्रुटिपुर्ण मार्गको बारेमा बहस प्रारम्भ गर्ने र आवश्यकत्ताअनुसार सुधार गर्नेगरि मुलुकलाई अघि बढाउन हामीले यो आन्दोलनको घोषणा गरेका हौं ।”