Logo

मन्त्रीको छड्के अनुगमनमा कर्मचारीलाई पहिलै जानकारी, यसरी गरियो स्वागत(भिडियोसहित)



चैत ३, काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल आज छड्केका लागि काठमाडौंको चाबहिलस्थित मालपोल कार्यालय पुगिन् । तर छड्केका लागि पुगेकी मन्त्रीको स्वागत गर्न कर्मचारीहरू लामबद्ध भएर बसेका थिए ।

मन्त्रीसहितको टोलीले गर्ने अनुगमनको अभिनयको समाचार संकलन गर्न सञ्चारकर्मीको टोली तमतयार भएर बसेको देखिन्थ्यो ।

आइतबार बिहान करिब १० बजेर ३० मिनेटमा मालपोत कार्यालयका कर्मचारी फूलमालासहित लामबद्ध भएर बसेका थिए । प्रयोजन थियो, कार्यालयको छड्के जाँचमा आउन लागेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको स्वागत गर्नु । करिब पौने ११ हुँदा मन्त्री अर्यालसहितको टोली मालपोत कार्यालय पुग्यो । अनुगमनका लागि पुगेकी मन्त्रीलाई कर्मचारीहरूले यसरी स्वागत गरे ।

जानकारीसहित कार्यालयमा पुगेको मन्त्रीसहितको टोलीले कस्तो अनुगमन ग¥यो होला ? तर कार्यालयभित्र अर्यालसहितको टोलीको क्रियाकलाप हेर्नलायकको देखिन्थ्यो । सञ्चारमाध्यमको घुइँचो देखेर होला कर्मचारीले काम गरेजस्तो र मन्त्रीले अनुगमन गरेजस्तो गरेको पाइयो । नभए सञ्चारकर्मी बथान र कर्मचारीको स्वागतको के आवश्यकता पथ्र्यो होला मन्त्रीको अनुगमनमा ?

अनुगमनको अभिनयपछि मन्त्री अर्यालले सुशासन कायम गर्न तथा सेवाग्राहीको कामलाई छिटो, छिरितो रुपमा सम्पन्न गर्न कर्मचारीहरूलाई निर्देशन दिइन् । उनले देशभरका सबै मालपोत तथा नापी कार्यालयहरु एक वर्ष भित्र विद्युतीय प्रणालीबाट सञ्चालन गर्ने आश्वासन दिइन् । मन्त्री अर्यालले असार मसान्त भित्र उपत्यकाकार एक वर्षभित्र देशभरका सबै मातपोत कार्यालयहरुको सेवा विद्युतीय प्रणालीबाट संचालन गर्ने योजना रहेको बताइन् ।

मालपोत तथा नापी कार्यालयहरुले नागरिकको काम सहज रूपमा नगर्ने, सानोतिनो कामका लागि पनि घुस माग्ने, मागेअनुसारको रकम नपाएसम्म काम अघि नबढाउने भन्ने गुनासो सर्वत्र छ ।

यी कार्यालयहरू चरम भ्रष्टाचार र अनियमिताको जालोमा जेलिएका छन् । मुलुक संघीय शासन व्यवस्थामा प्रवेश गरेर तीन तहको सरकार बने पनि मालपोत र नापीजस्ता कार्यालयले दिने सेवा प्रभावकारी बन्न सकेको छैन । सेवाग्राहीले कस्तो सेवा पाइरहेका छन्, कर्मचारीहरू कसरी काम गरिरहेका छन् भनेर छड्के जाँच गर्नुपर्नेमा अनुगमनको नाममा मन्त्रीको तामझाम र नौटंकीलाई के भन्ने ? झारा टार्ने मेलो वा सस्तो प्रचारबाजी ?



प्रतिक्रिया दिनुहोस्