Logo

तारकेश्वरको सडकमा सकस : मेयर र सांसद मुकदर्शक (भिडियोसहित)



वैशाख २६, काठमाण्डौ । देश संघीयतामा गएपछि स्थानीय क्षेत्रको विकास निर्माणले फड्को मार्ने अपेक्षा गरिएको थियो । तर जनताबाट निवार्चित स्थानीय जनप्रतिनिधी निरीह बन्दा देशैभरका जनता निराश छन् । काठमाण्डौ जिल्लाकै तारकेश्वर नगरपालिकाले पनि उल्लेख्य काम गर्न त्यस क्षेत्रको सडक अस्तव्यस्त छ । जसले गर्दा सर्वसाधारले निकै सास्ती खेप्नुपरेको छ ।

चुनावका बेला आश्वासन बाँड्न केन्द्रित हुने तर चुनाव जितेपछि कानमा तले हालेर बस्ने जनप्रतिनिधिबाट जनताले के अपेक्षा गर्ने ? यस्तै अवस्था छ काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिकाको । नगरपालिकाभित्र पर्ने सडक खण्डको अवस्था हेर्यो भने जनताको दुःख र जनप्रतिनिधिको लाचारी झल्किन्छ । २ वर्षअघि मतदान गरेर जनप्रतिनिधिलाई निर्वाचित गराउँदाको जनताको उत्साह अहिले मरिसकेको छ । निर्वाचित जनप्रतिनिधि हरेक दिन यही सडकमा यात्रा गर्छन्, तर समस्या देखेको नदेखे झैँ गरेका छन् । पछिल्लो सयम यस सडकखण्डमा दुर्घटना पनि बढ्न थालेको छ । तर कसेको चासो छैन ।

तर जनप्रतिनिधि भने आफूले उल्लेख्य काम गरेको दावी गर्छन् । नगरपालिकाका मेयर हुन रामेश्वर बोहोरा । बोहोराले आफू निर्वाचित भएर आएपछि धेरै काम गरेको दावी गरे । एक वर्ष नगरपालिकाको कार्यालय र कर्मचारी व्यवस्थापनामा जुट्नुपरेकाले विकास निर्माणको कामले गति नलिए पनि त्यसपछि भने धेरै सुधार भएको बोहोरा बताउँछन् ।

अर्का जनप्रतिनिधि हुन्, भिमसेनदास प्रधान । प्रतिनिधिसभा सदस्य प्रधानले पनि मेयर बोहोराले काम गर्न नसकेको आरोप लगाएर आफू उम्किने प्रयास गरे । स्थानीय विकास निर्माणको जिम्मेवारी नगरपालिकाको भएकाले आफ्नो कुनै कमजोरी नभएको प्रधान बताउनुहुन्छ । जनताको समस्याप्रति पनि नगरपालिकाले आँखा चिम्लिएको भन्दै प्रधानले आलोचना गरे ।

तारकेश्वर नगरपालिकाअन्तरगत रहेका नेपालटार–डाँडागाउँ–फुटुङ सडकखण्डमा समस्या छ । त्यसैगरी नेपालटारदेखि शेषमति हुँदै लोलाङ जाने बाटो पनि उस्तै छ । शेषमतिदेखि नगरपालिका कर्यालय क्षेत्र जरङ्खु, काभ्रेस्थली, धर्मस्थली लगायतका स्थानमा जाने सडक खण्डले सर्वसाधारण, यात्रु र सवारी चालकलाई निकै सास्ती दिएको छ । यि सडकखण्ड व्यवस्थित बनाउनमा तारकेश्वर नगरपालिकाले बेलैमा प्रभाकारी कदम चाल्नु जरुरी देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्