परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीमा द्वन्द्व चुलिएको छ । सरकारले हस्तक्षेप गरी डा. विश्वकेशर मास्के नेतृत्वको तदर्थ समिति गठन गरेपनि सर्वोच्च अदालतको अन्तरिम आदेशले पुरानै कार्यसमिति पुर्नबहाली गर्न भनेपछि प्रशासन, अदालत हुँदै राजनीतिक हस्तक्षेप सम्म पुगेको द्वन्द्व छताचुल्ल भएको छ ।
कुर्सीबाट हटाउने र बस्ने प्रतिष्पर्धाबीच अन्यौल बढेको रेडक्रसका एक अधिकारी बताउँछन् । थापा र मास्के दुवै कार्यालय आएका छ्रैनन् । विगतमा एउटै खेमाका भएपनि कुर्सीका लागि द्वन्द्वमा सक्रिय भएका छन् । थापा बर्खास्त गरिएका अध्यक्ष हुन् भने मास्के पूर्व उपाध्यक्ष हुन् ।
कसरी चल्यो द्वन्द्व
सञ्जीव थापालाई कुनैपनि हालतमा हटाउन एउटा पक्ष सक्रिय रहेको थियो । थापा हटाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं समेत सक्रिय भयो । उसले नेतृत्वका लागि तय गरिएको अधिवेशन रोक्न पत्र पठाएपछि धरानबाट अधिवेशनमा पुगेकाहरु फर्किएका थिए । वैशाख २२ देखि २४ सम्म धरानमा तय भएको अधिवेशनले नेतृत्वका लागि चुनाव गर्ने तय हुँदा पत्र पुगेपछि सञ्जिव थापा समूह फर्किएर अदालत पुगेको थियो ।
थापा नेतृत्वको कार्य समितिलाई अवैधानिक ठह¥याउँदै तदर्थ समिति बनाएपनि धेरै दिन टिक्न सकेन । ८ जेठमा डा. विश्वकेशर मास्केलाई अध्यक्ष र कमल निरौलालाई महासचिव बनाएर नयाँ कार्यसमितिले काम शुरु मात्र गरेको थियो । थापा अदालतको आदेशले पुर्नबहाली भएपछि रेडक्रसको विवादले नयाँ मोड लिएको छ ।
थापाको एकछत्र राज
विधानत रेडक्रसमा प्रत्येक चार वर्ष अधिवेशन हुनुपर्ने प्रावधान छ । पछिल्लो पटक २०७१ चैत्र २६ गते अधिवेशन सम्पन्न भई सञ्जीवकुमार थापा तेस्रो पटक अध्यक्ष निर्वाचित भएका थिए । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अधिवेशन गरिसक्नुपर्ने समयावधि र कति पटक अध्यक्ष बन्न पाउने बारे विधानमा उल्लेख गर्न भनेपछि थापाको नृतत्वमाथि संकट परेको थियो ।
थापाको अध्यक्षतामा ३२ सदस्यीय कार्यसमिति रहेको थियो । उक्त समितिमा उनको स्पष्ट बहुमत थियो । कार्यसमितिमा रहेका केही पदाधिकारी र पूर्व पदाधिकारीहरुले थापालाई हटाउने या चुनाव हराउने रणनीति बनाएका थिए । रेडक्रस अनियमितता प्रकरण अधिवेशनको नजिक आउनु र चुनाव रोकिनुलाई थापा पक्षले विपक्षीको षड्यन्त्र भन्दै आएका थिए । तर, थापाका विपक्षीहरु तीन कार्यकालमा थापाबाट ठूलो भ्रष्टाचार भएको दाबी गर्छन् ।
के छ रेडक्रसमा
नेपाल रेडक्रस सोसाइटीमा वार्षिक अर्बौंको बजेट विनियोजन हुँदै आएको छ । २०७४÷७५ मा ४ अर्ब ५३ करोड ५१ लाख ७३ हजार १ सय ८८ रुपैयाँ बजेट विनियोजन गरिएको रेडक्रसले जनाएको छ । स्वदेशी र विदेशी निकायबाट सहयोग आउने गर्छ । सहयोगमा ८० प्रतिशतभन्दा ठूलो हिस्सा विदेशी सहयोगले ओगटेको छ ।
२०७२ सालको भूकम्पपछि दाताहरुबाट ७ अर्ब ३९ करोड ३८ लाख ८२ हजार ३ सय ३९ रुपैयाँ संकलन भइसकेको छ । उसले ७ अर्ब १६ करोड ६६ लाख ५५ हजार १ सय १८ रुपैयाँ खर्च गरेको जनाएको छ । खर्च रकममध्ये आवासमा एक अर्ब ८० करोड १७ लाख ७ हजार, खानेपानी परियोजनामा ३१ करोड ७ लाख, व्यक्तिगत घरको शौचालयमा १६ करोड २२ लाख १६ हजार, संस्थागत शौचालयमा ५ करोड ८४ लाख, विद्यालय जोखिम न्यूनीकरण गतिविधिका लागि ३० लाख प्राप्त भएको थियो । ती सहयोग परिचालनमा व्यापक अनियमितता भएको आरोप थापामाथि लाग्दै आएको छ ।