Logo

१६ लाख बालबालिका श्रममा, नियमको धज्जी



जेठ २९, काठमाण्डौ । हरेक वर्ष जुन १२ तारिखमा विश्वभर मनाइदै आएको बालश्रमविरुद्ध दिवस मनाइन्छ । नेपालमा पनि यो दिवस आज मनाइयो । दिवस मनाइरहँदा श्रम शोषणमा परेका बालबालिकाको विषयमा भने कसैले पनि चासो दिएको पाइएन ।

नेपालमा करिब १६ लाख बालबालिकालाई विभिन्न काममा लगाइएको छ । अन्तराष्ट्रिय श्रम संगठनको यो तथ्याङ्ले स्पष्ट पार्छ कि नेपालमा बालश्रम अझै कायम छ । बालश्रम उन्मुलन गर्ने र युवा श्रमिकका लागि सुरक्षित र स्वस्थकर वातावरण बनाउने अभियानको थालनी स्वरुप बालश्रमविरुद्ध दिवस मनाउने गरिन्छ ।

नेपालले पनि यो दिवस हरेक वर्ष मनाउँछ । तर श्रममा लगाइएको तिनै बालबालिकाको विषयमा भने कसैले पनि चासो दिएको पाइदैन । कानुनको पालना गर्ने र गराउने पक्ष उदासिन हुँदा नेपालमा बालबालिकालाई श्रममा लगाउने प्रवृत्तिको अन्त्य हुन नसकेको बालअधिकारकर्मी बताउँछन् ।

बालश्रम बालबालिकाले गर्ने शारीरिक श्रम हो भने नेपाल उच्च बालश्रम दर भएको देश हो । नेपालमा बालबालिकाको हक अधिकारको रक्षा गर्न बनेको बालबालिका सम्बन्धि ऐन २०४८ ले १६ वर्ष मुनिका प्रत्येक लाई बालबालिका भनेर परिभाषित गर्दै उनीहरुलाई श्रमिक बनाउन बर्जित गरेको छ । तर यसको कार्यान्वयनतर्फ सरकारले चासो दिन सकेको छैन ।

अन्तराष्ट्रिय श्रम संगठन तथ्यांक अनुसार नेपालमा ५ देखि १७ वर्ष उमेरका १६ लाख भन्दा बढी बालश्रमिक रहेका छन् । त्यसमध्ये ६ लाख भन्दा बढी बालश्रमिक जोखिमयुक्त व्यवसायमा आवद्ध छन् ।

यी मध्ये पनि धेरैजसो कृषि पेशामा, गलैचा कारखाना, होटल, इट्टा भट्टा, भारी बोक्ने लगायतका विभिन्न ८६ वटा जोखिमयुक्त क्षेत्रमा बालकालिकाको श्रम शोषण भइरहेको छ । सन् २०३० सम्ममा सबै कामदारका लागि सुरक्षित र स्वस्थकर वातावरण उपलब्ध गराउने र सन २०२५ सम्ममा सबै प्रकारका बालश्रम उन्मुलन गर्ने दिगो बिकास लक्ष्यमा उल्लेख गरिएको छ ।

संसारभर १५ देखि २४ वर्ष उमेर समुहका ५४ करोड १० लाख कामदार रहेको अन्तराष्टिय श्रम संगठन आइएलओको तथ्यांकले जनाएको छ । नेपाल सरकारले वि सं २०८२ सम्ममा बालश्रम अन्त्य गर्ने लक्ष्य राखेको छ । । नेपालमा बालश्रम अन्त्यका लागि सरकारी तथा गैरसरकारी तहबाट करोडौ रुपैया खर्च भएपनि उल्लेख्य रुपमा सुधार भने हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्