Logo

गैर सुकुम्बासीलाई सुकुम्बासीका नाममा जग्गा बाँड्ने तयारी



जेठ ३२, काठमाण्डौ ।  सरकारले भूमि व्यवस्थाका नाममा जथाभावी जग्गा बाँड्ने योजना बनाएर कानुन समेत बनाउँदैछ । सुकुम्बासी आयोग गठन गरेर लाखौंलाई जग्गा बाँड्ने योजना पूरा गर्न संसदमा विधेयक पारित गर्ने तयारी हुँदैछ ।

सुकुम्बासी आयोग बनाउने कानुन बनाउन फागुन १९ गते मन्त्रिपरिषदले निर्णय गरी २९ गते दर्ता भएर विधयेक बन्ने तरखरमा छ । भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधयेकमा ‘भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी लगत लिने, स्थलगत अध्ययन गरी प्रमाण संकलन गरी जग्गा उपलब्ध गराउनको लागि नेपाल सरकार समक्ष सिफारिश गर्ने प्रयोजनको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी एक आयोग गन गर्न सक्ने’ भनिएको छ ।

विधयेक पारित भए देशभर लाखौं गैरसुकुम्वासीले विभिन्न बहानामा जग्गा पाउने बाटो खुल्नेछ । जग्गा बाँडेर राजनीतिक भोट बैंक बढाउन सकिने निष्कर्षका साथ सरकारमा रहेकाहरु योजना बनाएर अगाडि बढेका छन् ।

गैरसुकुम्बासीलाई जग्गा

देशमा सुकुम्बासीका नाममा जति जग्गा बाँडेपनि सुकुम्बासी घट्नुको साटो बढेको बढ्यै छन् । छ दशक भयो सुकुम्बासी समस्याका लागि आयोग बन्ने र बिघटन हुने क्रम । समस्या समाधानको साटो बल्झिरह्यो ।

सुकुम्बासीका नाममा नाम चलेका व्यक्तिहरुले समेत जग्गा लिएको तथ्य खुलेको छ । रुपन्देहीमा पूर्वमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको परिवारले सुकुम्वासीका नाममा जग्गा लिएको तथ्य खुल्यो ।

जग्गा बाँड्ने क्रम समय समयमा चलिरहन्छ । सरकारी तहबाट २०१३ बाट भूमिहीन सुकुम्वासीलाई जग्गा वितरण शुरु भई २०६६ सम्म जग्गा वितरण भइसकेको छ । जग्गा वितरण विवादमा परेपछि रोक्किएको थियो । तर, दश वर्षपछि पुनः जग्गा बाँड्ने चलखेल शुरु गरिएको छ । भूमाफियाहरु गैर सुकुम्बासीलाई सुकुम्बासी बनाएर जग्गा प्राप्त गर्न सक्रिय भइसकेका छन् ।

निर्लज्जहरुले के गरे

बहुदल भूमाफियाका लागि अवसर बन्यो । त्यसता ११ वटा आयोग गठन भयो, छ वटाले पटक पटक गरी एक लाख ६५ हजार एक सय ३२ सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ४५ हजार ९ सय ६५ बिगाहा र नौ हजार चार सय ६० रोपनी जग्गा वितरण गर्यो । देशभर एक लाख ६५ हजार परिवारले जग्गा पाए । तर, सुकुम्बासी घटेनन् ।

राजनीतिक दलका नेताहरुले भोट बैंक बनाउने नाममा आफ्नालाई जग्गा बाँडे । चाटुकारहरुले जग्गा पाए । कतिपयले आफै समेत सुकुम्बासी बनेर जग्गा लिए । सुकुम्बासीलाई जग्गा बाँडेर आफ्नो नाममा वस्ती समेत बसाले ।



प्रतिक्रिया दिनुहोस्