रिपोर्टर्स नेपाल विशेष । डा. बाबुराम भट्टराई, लामो कम्युनिष्ट राजनीति त्यागेर गैर कम्युनिष्ट शक्ति निर्माणमा लाग्दा धेरैलाई आश्चर्यमा पारे । गोरखाको गैरकम्युनिष्ट पारिवारिक पृष्ठभूमिमा हुर्किएपनि युवावस्थामा कम्युनिष्ट बनेरसहपाठीलाई आश्चर्यमा पारेका थिए ।
माओवादी सशस्त्र जनयुद्ध हुँदै शान्तिपूर्ण राजनीतिक मूलधारमा आउँदा बाबुरामले उग्र कम्युनिष्ट विचारधारा अंगिकार गरेका थिए । माओवादी सशस्त्र जनयुद्धको मुख्य योजनाकारका रुपमा आफूलाई प्रस्तुत गर्थे । बाबुराम योजना बनाउँथे प्रचण्ड कार्यान्वयन गर्थे । तर, समयकालले बाबुरामलाई आफै योजना बनाउने र कार्यान्वयन गर्ने महत्वाकांक्षा जगायो । उनले माओवादी त्याग्ने सम्मको जटिल र जोखिम मोल्ने निर्णय लिए ।
माओवादी सत्तामा रहँदा उनले पनि सत्ता र शक्ति इन्ज्वाई गरे । तत्कालिन माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा अर्थमन्त्री भएका उनले राजनीतिक खिचातानीका बखत प्रधानमन्त्री बनेर बाजी मारे । जुन दलबाट बाबुराम प्रधानमन्त्री बने त्यही दल त्याग्दा कम्युनिष्ट विचारधारा त्यागेको घोषणा गरे । उनले बनाए नयाँ शक्ति नेपाल ।
नयाँ शक्तिमा पूर्व कर्मचारी, बुद्धिजीवी देखि कलाकारसम्मलाई भेला पारेका थिए उनले । तर, राजनीतिमा तिनले धैर्यता गुमाए । बाबुराम एक्लिदै गए । धेरैलाई लाग्यो कि बाबुरामको नेपाली राजनीतिमा अब प्रभाव सक्कियो !
अबको बाटो
सबैलाई छक्क पार्दै बाबुरामले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गरे । उपेन्द्र यादवसँगै समाजवादी पार्टी नेपालको अध्यक्ष बने बाबुराम । घटनाक्रम यसरी विकास भयो कि बाबुराम मधेशी र जनजातिसँग जोडिएको दलको नेता बन्ने दिशामा बढे ।
समाजवादी पार्टी नेपालमा जातीय मुद्दा उठान गर्नेहरुको बाहुल्य छ । उपेन्द्र यादव देखि अशोक राई र राजेन्द्र श्रेष्ठहरुले जातीय मुद्दालाई जोडतोडले उठाउँदै आएका छन् । उपेन्द्र यादव मधेश आन्दोलनबाट उदाएका नेता हुन् ।
बाबुरामले जातीय मुद्दामा जोड दिएको अहिले मात्र होइन । संविधान जारी हुँदा चलेको मधेश आन्दोलनमा तराई मधेश पुगेर जातीय विषयलाई महत्व दिएका थिए । गैर मधेशी नेता तराई जान नसक्ने अवस्थामा बाबुराम पुगेका थिए । यो उनको मधेशीको मन जित्ने रणनीति थियो ।
अहिले घटनाक्रम यसरी विकसित हुँदै छ कि समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी एकीकरणको पहल भइरहेको छ । दुई ध्रुव जस्तै बनेका उपेन्द्र यादव र राजेन्द्र महतो नजिकिएका छन् । यसमा बाबुरामले कडा मिहेनत गरे । बाबुरामकै पहलमा मधेशी र जनजाति नेताहरुलाई एक ठाउँमा ल्याउने प्रयास चलिरहेको छ ।
एक आपसमा मिल्न नसक्ने मधेशवादी दलका नेताहरुलाई मिलाउन बाबुराम आफै सक्रिय हुनुमा उनको राजनीतिक महत्वाकांक्षा लुकेको छ । मधेशवादी र जनजाति नेताहरुलाई एकढिक्का बनाएर बाबुराम सशक्त शक्ति निर्माण गर्दैछन् । त्यो शक्तिको नेतृत्व बाबुरामले गर्ने गरी योजना बनिरहेको छ ।
पछिल्लो समय उनले जातीय मुद्दाहरुलाई महत्व दिदै गएका छन् । गएको चुनावमा नयाँ शक्तिबाट बाबुराममात्र प्रतिनिधिसभामा निर्वाचित भए । तर, आफूभन्दा निकै बढी सिट जितेको फोरमसँग एकता भई एकीकृत दलको अध्यक्ष बन्न सके । फोरमको प्रतिनिधिसभामा १६ सिट रहेको छ ।
सरकार छाड्न दबाब
नयाँ शक्ति र फोरमसँगको एकतापछि बनेको समाजवादी पार्टी नेपालले सरकार छाड्ने साइत कुरेको छ । वर्तमान सरकारमा एक उपप्रधानमन्त्री, एक मन्त्री र एक राज्यमन्त्री रहेको उसले सरकार छाड्दा सरकार अल्पमतमा पर्ने पनि होइन ।
तर, उपेन्द्र यादवले सरकार छाड्दा देशमा नयाँ मुद्दा उठ्न सक्छ । जातीय र क्षेत्रीय मुद्दाले सडक र संसदमा बलियो स्थान बनाएर सरकारलाई अप्ठ्यारोमा पार्न सक्छ ।
मधेशको माग सम्बोधनको विषयलाई उपेन्द्रले उठाउँदै आएका छन् । सरकारमा बस्दा उनीमाथि मधेशको माग सम्बोधन गराउन दबाब सृजना गर्न नसकेको आरोप लाग्दै आएको छ । बाबुरामसँग मिलेपछि सत्ता छाड्न माहोल मिलाउँदैछन् उपेन्द्रले ।
साइत हेरेर केही हप्ताभित्र सत्ता छाड्न लागेका उपेन्द्रले एकीकृत पार्टीलाई क्षेत्रीय तथा जातीय मुद्दा उठाएर आन्दोलनमा होम्न सक्छन् । अहिले लोकसेवाको विज्ञापन विवाद देखि गुठी विधेयकले सरकार समस्यामा परिरहँदा उपयुक्त समय खोजिरहेको छ समाजवादी पार्टी नेपालले । यही अवस्थामा उपेन्द्रले सरकार छाडेर नयाँ ढंगले शक्ति संचय शुरु हुन सक्छ ।
बाबुराम फेरि प्रधानमन्त्री !
राजनीतिक खिचातानीका कारण देशमा अर्को जटिल परिस्थिति आउन सक्छ । संसदमा तेस्रो शक्ति भइसकेको समाजवादी पार्टी नेपालले मुख्य दुई दलको द्वन्द्वमा च्याखे थाप्न सक्छ । त्यस्तो अवस्थामा बाबुराम पुनः शक्तिमा पुग्ने अवस्था बन्न सक्छ ।
इथास्थितिमा बाबुराम प्रधानमन्त्री भइहाल्ने अवस्था छैन । उनले अझै तीन वर्ष शक्ति संचयमा समय खर्चिने छाँट देखाइसके । कम्युनिष्ट र काँग्रेसबोहक क्षेत्रीय र जातीय शक्तिलाई साथ लिएर अगाडि बढ्दैछन् । यो उनको केही वर्षभित्र प्रधानमन्त्री बन्ने उद्देश्य अन्र्तगत देखिन्छ ।
बाबुरामले विचारलाई टेक्ने आधार मात्र बनाएका छन् जसबाट उनी सत्ता र शक्तिमा पुग्न सकुन् ।
यु-टर्न हुने उनको शैलीले निश्चित विचारधारामा टिकाइरहन नसक्ने प्रमाणित भइसकेको छ । समयानुकूल परिवर्तन भएर कुशल रणनीतिकारको खुबी देखाएर बाबुराम नेपाली राजनीतिमा शक्तिशाली बनिरहने अभ्यासमा लागिसकेका छन् । जुनसुकै राजनीतिकालमा पनि शक्तिशाली भइरहने सूर्यबहादुर थापाको शैलीसँग मिल्दोजुल्दो गरी अगाडि बढ्दैछ ।