काठमाडौं, १५ असार । धान दिवसका दिन महिलासँगको विवादास्पद तस्वीरका कारण कृषिमन्त्रीले पदबाट राजीनामा दिनुपरेको थियो । घटना १५ असार २०७२ सालको हो । महाभूकम्पबाट देश बल्ल तंग्रिदै थियो । तत्कालिन कृषिमन्त्री हरि पराजुली धान दिवस मनाउन काठमाडौंको मुलपानी पुगे ।
धान दिवसमा अपरान्ह तीन बजे पुगेका उनले कार्यक्रमको उद्घाटन गरेर भाषण पनि गरेका थिए । त्यसपछि पाइन्ट माथि सार्दै हिलोमा पसे । रोपाईं गर्न थाले ।
महिलाहरुको बाक्लो उपस्थिति भएको कार्यक्रममा महिलासँग चल्न थाले । उनले हातले चल्ने र छुने गतिविधि क्यामरामा कैद भयो । उनले महिलालाई अंगालो हालेपछि कतिपय महिलाले मन्त्रीलाई गाली गरे ।
उक्त घटनाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो । मन्त्री पराजुली आलोचित बने । महिलामाथि दुव्र्यवहार भएको भन्दै उनको दल तत्कालिन नेकपा एमालेभित्र समेत राजीनामाको दबाब पर्यो ।
प्रभावशाली नेता वामदेव गौतम निकट मन्त्री पराजुली राजीनामा दिन वाध्य भए । धान दिवसको दिन महिलामाथि दुव्र्यवहारको तस्वीरका कारण उनको पद गयो । पराजुलीको राजनीतिक जीवनमै धक्का पुग्ने घटना भयो । धान दिवसले पराजुलीको मन्त्री पद खाएको थियो ।
त्यसपछि धान दिवस मनाउँदा अर्का मन्त्री हरिबोल गजुरेल विवादमा परे । उनले गमलामा धान रोपेर धान दिवसको उद्घाटन गर्दा विवाद भएको थियो । तस्वीरः शब्भु दंगालको फेसबुकबाट साभार