अमेरिकी फुटबल स्टार मेगान रेपिनोले भनेकी थिइन्—विश्वकप फुटबल जितेपनि ह्वाइट हाउस जान्न । उनले कडा वाक्यमा भनाई सार्वजनिक गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरी देश र झण्डाको सम्मान गर्न भनेका थिए ।
ट्रम्पले महिला विश्वकपमा अमेरिका जितेपनि हारेपनि आफूले ह्वाइट हाउसमा टिम अमेरिकालाई निम्तो गर्ने बताए । अब विश्वकप सकिएको छ । २२ असारमा फ्रान्समा भएको फाइनलमा अमेरिकाले नेदरल्यान्डमाथि २—० गोलको सानदार जित निकालेको छ । चौंथोपटक अमेरिकालाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका निभाएकी मेगान ट्रम्पको निम्तो मानेर ह्वाइट हाउस जान्छिन् कि जान्नन् ? प्रतिक्षाको विषय छ ।
प्याजी रङ्गको कपाल बनाएकी ३४ वर्षीया मेगान पछिल्लो समय कडा टिप्पणीका कारण लोकप्रीय छिन् । महिलाको अधिकारका लागि आवाज उठाइरहेकी छिन् । उनले फुटबलमा महिला र पुरुषबीच विभेद रहेको बताइन् ।
फिफाले महिला विश्वकपलाई बेवास्ता गरेको भन्दै पुरस्कार राशीतर्फ देखाइन् । फिफा विश्वकपमा महिलाको तुलनामा पुरुषको पुरस्कार राशी आठ गुणाले बढी छ । यो राशी वृद्धि गर्ने तयारी भइरहेको छ ।
यो विश्वकपले मेगानलाई फुटबल खेलाडीमा मात्र सिमित राखेन । उनलाई महिला अधिकारकर्मीका रुपमा पनि स्थापित गर्ने देखिएको छ । Photo: Organlive.com