काठमाडौं, १८ साउन । सत्तापक्षका सांसद र प्रतिपक्षका सांसदबीच राष्ट्रिय पोशाकलाई लिएर टेलिभिजन कार्यक्रममै चर्को वादविवाद परेको छ । सत्तापक्षका सांसद नवराज सिलवाल र प्रतिपक्षका सांसद मनिष सुमनबीच पोशाकलाई लिएर घम्साघम्सी परेको हो । सिलवाल ललितपुरबाट निर्वाचित नेकपाका सांसद हुन भने सुमन सप्तरीबाट निर्वाचित राजपाका प्रदेश सदस्य हुन् । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानीमा उनीहरुबीच यस्तो घम्साघम्सी परेको हो ।
सांसद सिलवालले नेपालमा दौरा, सुरुवा र ढाका टोपीको ईतिहास भएकोले नेपालको राष्ट्रिय पोशाक नै यही भएकोले यसलाई संरक्षण तथा प्रर्वद्धन गर्नुपर्नेमा जोड दिए । उनले भने,”यो पोशाकको एउटा लेगेसी छ । योसँग सभ्यता पनि छ । अहिलेको सरकारले र देशमा भएका विद्यमान राजनीतिक दलहरुले हाम्रो देशको राष्ट्रिय पोशाक के हो भनेर घोषणा गर्नुपर्यो ।”
तर, राजपा नेपालका महासचिव समेत रहेका सांसद मनिष सुमनले आफूहरु राष्ट्रिय पोशाकको मागको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने,‘यस्तो माग गरेर कोही पनि राजविराजमा आउनुभएको छैन् । यो कुरा विर्तामोडको चोकमा पनि आउनुपर्छ । विरगन्जको घण्टाघरमा पनि आउनुपर्छ । खाली काठमाडौंको माईतीघर मण्डलामा हल्ला गरेर हुन्छ ?’