Logo

सधै प्रथम मदन भण्डारी



जननेता मदन भण्डारीको जन्म २००८ साल आषाढ १४ गते शुक्रबार ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा भएको थियो । उनले ७ वर्षको उमेरमा गाउँकै पाठशालामा शिक्षारम्भ गरी बनारस संस्कृत विश्वविद्यालयबाट २०३० सालमा संस्कृत साहित्यमा आचार्य पूरा गरेका थिए । अध्ययनको क्रममै उनको विलक्षण प्रतिभा प्रकट भएको थियो– उनी कक्षामा कहिल्यै दोस्रो भएनन् ।

मदन भण्डारी २०२४ सालमा बनारसमा अध्ययनरत रहेकै बेला कम्युनिष्ट पार्टीको सम्पर्कमा आएर त्यसपछि राजनीतिमा सकृय हुन थालेका थिए । उनी सदैव अत्यन्त निडर, तेजी र तर्कशील थिए । गरिब, दुःखी र थिचोमिचोमा परेकालाई माया गर्ने र शोषण, उत्पीडन गर्नेहरूलाई घृणा गर्ने स्वभावका कारणले पनि उनलाई कम्युनिष्ट सिद्धान्ततर्फ आकर्षित हुन र जनताको निम्ति राजनीति गर्न प्रोत्साहित गरेको थियो ।

जीवनमा कहिल्यै कुनै सरकारी अर्धसरकारी वा अन्य कुनै पेशा–व्यवसायमा नलागी अध्ययन समाप्तिपछि सम्पूर्ण रूपले देश र जनताको लागि समर्पित रही काम गर्ने भण्डारी, जटिलता र अप्ठेराहरूसँग नडराउने निर्भीक स्वभावका मान्छे थिए । र यी गुणहरूका साथ धैर्यता एवं सतर्कता उनीका परिचय बनेका थिए । यसैकारण लामो भूमिगतकालमा पनि उनी कहिल्यै शत्रुको हातमा परेनन् ।

२०३८ सालमा विधा पाण्डेका साथ भूमिगत अवस्थामै उनको विवाहा भएको थियो । मदन भण्डारी कहिल्यै आफ्नो बारेमा सोच्ने, चिन्तित हुने र कुनै माग गर्ने गर्थेनन् । उनी निर्णय लिनुपर्दा र काम गर्नुपर्दा यश–अपयशको परवाह नगरी सत्य र वास्तविकताको स्वीकार र सामना गर्थे ।

विभिन्न समय र विभिन्न जीवन, भीष्म, सागर, श्वेतशार्दूल, सग्रामसिंह, एस.एस., बर्बरिक (बिबिआर) राजमोती, मकुभपखेली आदि उपनामले चिनिने उनको न्वारनको नाम मोतीराज भण्डारी थियो । मदन भण्डारी २०३० सालदेखि ने नेकपा (पुष्पलाल समूह) को सांस्कृतिक मोर्चाको केन्द्रीय सदस्य रहेका थिए । २०३३ सालमा मुक्तिमोर्चाको गठन हँुदा उनी त्यसका प्रमुख व्यक्तित्वहरू मध्ये एक थिए । २०३४ साल भाद्रमा तत्कालीन कोअर्डिनेशन केन्द्र र मुक्तिमोर्चाको एकीकरण पश्चात् उनी ओअर्डिनेशन संगठनमा सामेल भए । उनी २०३५ साल श्रापणमा कोअर्डिनेशन केन्द्रको सदस्य बने र २०३५ साल पौषमा नेकपा (माले) को गठन गर्ने सम्मेलनको उनी व्यवस्थापक र सो सम्मेलनद्धारा पुनः केन्द्रीय सदस्य निर्वाचित भए ।

२०३७ सालदेखि पार्टीभित्र विभिन्न महत्वपूर्ण सवालहरूमा पैदा भएका वैचारिक विवादहरूमा उनको सकृय सहभागिता रहेको थियोर र २०३८ रालदेखि पार्टीभित्रका सैद्धान्तिक र राजनीतिक विवादहरूमा उनका विचरहरूले स्पष्टतः अगुवाइ गर्न थालेका थिए । त्यसक्रममा पार्टीभित्र अन्यौल र अस्पष्ट रहेका कार्यक्रम र यसको आम तथा ठोस पक्ष, प्रधान अन्तरबिरोध, रणनीति र कार्यनीति जस्ता महत्वपूर्ण सवालहरूमा सुस्पष्ट धारणा अघिसार्दै पार्टीलाई सही दिशा प्रदान गर्न अग्रणी भूमिका निर्वाह गरे । उनी आफूले निर्वाह गरेका भूमिकाकै कारण २०४१ सालमा पार्टीको पोलिटव्यूरोमा निर्वाचित भए । सैद्धान्तिक क्षमतार साजनैतिक नेतृत्वको भूमिकाकै कारण २०४६ सालमा सम्पन्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनद्धारा निर्वाचित केन्द्रीय कमिटीले उनलाई सर्वसम्मतिले महासचिवको जिम्मेवारी सुम्पियो । यसरी उनी जहिले पनि प्रथम भए, नेतृत्वकर्ता बने । नीतिनिर्माता, विचारक र त्यसलाई कार्यान्वयनमा लाने कार्यान्वयनकर्ता बने । ब्रदर्श बुक्सले प्रकाशन गरेको पुस्तक नेपालका चर्चित हत्याकाण्डबाट साभार



प्रतिक्रिया दिनुहोस्