Logo

चिनियाँ राष्ट्रपतिको स्वागतमा धमाधम सडक टाल्दै सरकार



काठमाडौं, १५ असोज । सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिन नेपाल आउने पक्का भएसँगै उपत्यकाको सडक मर्मत थालेको छ।

यसअघि पनि सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बिमस्टेक सम्मेलन, तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी लगायत भिभिआइपी आउँदा उपत्यकाका सडक मर्मत गरेर चिटिक्क पारेको थियो।

चिनियाँ राष्ट्रपति अक्टोबर ११ देखि १४ सम्म जुनसुकै बेला आउन सक्ने भन्दै अहिले सडक विभाग तथा डिभिजन सडक कार्यालय काठमाडौंले हतार–हतार सडक मर्मत सुरु गरेका छन्।

सडक विभागले भने चिनियाँ राष्ट्रपतिको सवारीलाई लक्ष्य गरेर नभई नियमित मर्मतसम्भार भन्दै आएको छ। सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले विदेशी पाहुनालाई लक्ष्य गरेरभन्दा पनि नियमित सडक मर्मत गर्ने योजना अनुसार काम गर्न लागेको बताए।

‘चाडपर्वमा सडक मर्मत गर्ने पुरानै संस्कार हो,’ उनले भने, ‘बर्खामा भत्केर खाल्डाखुल्डी भएका सडक मर्मत गर्न खोजेका हौं।’ प्रवक्ता सापकोटाले सडक बोर्डबाट सडक मर्मतसम्भारको लागि बजेट निकासा भएकाले काम सुरु भइसकेको बताए। ‘उपत्यकाको धेरै खाल्डाखुल्डी भएका सडक मर्मत गर्न लागेका हौं,’ उनले भने, ‘अहिले धमाधम काम भइरहेको छ।’

विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–कोटेश्वर–तिनकुने, बानेश्वर हुँदै सोल्टीमोड, त्रिपुरेश्वर–सुनधारा, जमल, पुतलीसडक, गौशाला–चाबहिल लगायत सडक खण्ड मर्मत गर्न लागिएको छ।

सडक बोर्डले सडक मर्मतको लागि आठ अर्ब रुपैयाँ विनियोजन गरेको छ। उक्त बजेटबाट ७० प्रतिशत राजमार्ग मर्मतसम्भार र ३० सहरी सडक मर्मतसम्भारको लागि बजेट विनियोजन गरेको छ।आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्