Logo

वामपन्थी झुकावको आरोपपछि नोबल विजेता बेनर्जीले गरे पक्षपाती नभएको दाबी



यस वर्षका अर्थशास्त्रका नोबल पुरस्कार विजेता अभिजित बेनर्जीमाथि वामपन्थी झुकावको आरोप लागेको छ । उनलाई भारतका एकजना मन्त्रीले वामपन्थी झुकाव रहेको भन्दै त्यस्तो आर्थिक विचारलाई भारतीय जनताले अस्वीकृत गरिसकेको बताए ।

बेनर्जीमाथि भारतका उद्दोग तथा वाणिज्यमन्त्री पिउस गोयलले वामपन्थी झुकावको आरोप लगाउँदै उनको अर्थतन्त्रसम्बन्धि विचार भारतीय जनताका लागि उपयोगी नहुने तर्क गरेपछि बेनर्जीले आफ्नो अर्थतन्त्रसम्बन्धि विचारमा कुनै पक्षपात नभएको दाबी गरेका छन् ।

भारतीय मूलका अमेरिकी बेनर्जीमाथि भारतीय मन्त्रीले उनको विचार भारत र भारतीय जनताको हितमा नहुने बताउनुलाई अर्थपूर्ण मानिएको छ । उनले अधिकांश अध्ययन अनुसन्धान भारतसम्बन्धि नै गरेका छन् । गुजरातमा नरेन्द्र मोदी मुख्यमन्त्री हुँदा त्यहाँ पनि आफूले काम गरेको बेनर्जीको भनाई थियो ।

बेनर्जी जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययन गरेका थिए । जहाँ उनी वामपन्थीहरुसँग निकट थिए । आफू अन्य मामलामा पक्षपाती हुनसक्ने भएपनि अर्थशास्त्रमा पक्षपाती नभएको जिकिर गरे । आफूलाई अर्थशास्त्रको व्यवसायिकता हेरेरै पुरस्कार दिएको उनको भनाई थियो । अभिजितसँगै इस्थर डुफुलो र माइकल क्रेमरलाई संयुक्त रुपमा यस वर्षको नोबेल पुरस्कार प्रदान गरिएको छ ।
-एजेन्सी



प्रतिक्रिया दिनुहोस्