Logo

यी हुन् काश्मिरमा वीरगति प्राप्त गर्ने दुई गोर्खा सैनिक



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा नेपाल भ्रमणका बखत भनेका थिए-भारतले कुनै युद्ध लडेको छैन जहाँ गोर्खा सैनिकको बलिदानी नभएको होस् । काश्मिरको युद्धमा भारतका लागि गोर्खा सैनिकले बलिदानी दिदै आएको धेरै कथाहरु छन् । बलिदानी फेरि थपिएको छ ।

२ कात्तिकमा पाकिस्तानी सैनिकसँगको भिडन्तमा दुई गोर्खा सैनिकले वीरगति प्राप्त गरेका छन् । भारतीय सेनालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले वीरगति प्राप्त गर्नेमा हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गमिल कुमार श्रेष्ठ भएको जनाएको छ । उनीहरु नेपालका हुन् र कहाँका बासिन्दा हुन् जानकारीमा आइसकेको छैन ।

पाकिस्तानबाट आतंककारी घुपैठका क्रममा उनीहरुले वीरगति प्राप्त गरेको उल्लेख छ । काश्मिरको लाइन अफ कन्ट्रोलमा पाकिस्तानी सैनिकसँग भारतीय सैनिकको गोली हानाहान भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गोर्खा सैनिकको निधनबारे भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतीय सेनापति जनरल विपिन रावतसँग कुरा गरी गहिरो दुःख व्यक्त गरेको समाचार संस्था आइएएनएसले जनाएको छ ।

भारतीय स्थल सेनाका प्रधानसेनापति जनरल वीपिन रावतले पाकिस्तानतर्फ १० जनासम्मको सैनिक मारिएको बताएका छन् । जसलाई पाकिस्तानले खण्डन गरेको छ । भरतीय सेनाका प्रधानसेनापति जनरल वीपित रावतले वीरगति प्राप्त गरेका दुई सैनिकलाई बहादुर भन्दै परिवारप्रति शोक व्यक्त गरेका छन् । रावतले वीर गोर्खा सैनिकप्रति सलाम भनेका छन् ।

पीटीआइका अनुसार पाकिस्तानी सेनाले गोली चलाएपछि जवाफी फायरिङ भएको हो । घुनदिस्तान गाउँमा आइतबार भएको घटनामा दुई भारतीय सैनिक मारिएका थिए । जवाफी फाइरिङमा पाँचजना पाकिस्तानी सैनिक मारिएको पीटीआइले जनाएको हो ।

लाइन अफ कन्ट्रोलमा पाकिस्तानले युद्धविराम उल्लंघन गरेको भारतीय पक्षको दाबी छ । दुवै पक्षले एक अर्काको सीमाभित्र छिरेको आरोप लगाउने गरेका छन् ।

गत हप्ताको मंगलबार पाकिस्तानी मोटार हमलाबाट २७ वर्षीया महिलाको मृत्यु भएको थियो । घटनापछि दुवै पक्षबीच तनाब बढ्ने खतरा बढेको छ ।
काश्मिरको विषयमा भारत र पाकिस्तानबीच तनाव कायमै छ । ३७० धारा खारेज पछि पाकिस्तान भारतीय कदमको विरोधमा उत्रिएको छ ।

-एजेन्सी
Photo Source: Twitter Account Indian Army



प्रतिक्रिया दिनुहोस्