काठमाडौं, २१ पौष। राष्ट्रिय जनता पार्टी नेपाल फुटको संघारमा पुगेको छ । अध्यक्ष मण्डलका चार जना सदस्यहरु क्रमशः राजेन्द्र महतो (संयोजक), शरदसिंह भण्डारी, अनिल झा र राजकिशोर यादवले राष्ट्रिय सभा निर्वाचनको टिकट वितरण गर्दा साँढे तीन करोड लिएको आरोप लागेपछि फुटको अवस्था बनेको हो ।
अध्यक्ष मण्डलका दुई जना सदस्यहरु महन्थ ठाकुर र महेन्द्र राय यादव महतोसहित चारजनासँग असन्तुष्ट बनेका छन् । उनीहरु पार्टी नै फुटाउनेसम्मको तयारीमा जुटेको स्रोतको भनाई छ ।
आज बसेको अध्यक्ष मण्डलको बैठकमा महेन्द्र राय यादव त उपस्थित् नै भएनन् । अर्का सदस्य ठाकुर एकछिन उपस्थित् भएर बैठक बहिष्कार गरेका थिए । राजपाबाट मृगेन्द्र सिंह यादव र शेखर कुमार सिंहले उम्मेदवारी दिएका छन् । राजपाका एक नेताका अनुसार राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादवले पैसामा टिकट वितरण गरेका हुन् । ती नेताले यसबारे पार्टीभित्र गम्भीर छानविन हुनुपर्ने आवाज उठेको बताए । उनले भने, पैसाको लेनदेन संयोजक महतो र अर्का सदस्य भण्डारीले गरेका हुन्।
प्रदेश २ मा राजपाको ६९ जना जनप्रतिनिधि छन् । प्रदेशसभामा २५ सांसद र स्थानीय तहका ४४ जना प्रमुख, उप–प्रमुख राजपाका छन् । राजपाले २ सिटको लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग सहमति गरेको छ ।
दुवै उम्मेद्धवारको नाम सार्वजनिक गरेसँगै पार्टीभित्र उक्त निर्णयलाई लिएर चर्को विरोध समेत भएको थियो । महन्थ ठाकुर र महेन्द्र राय यादवले कडा कदम चाल्ने चेतावनी समेत दिएका छन्।
दुवै उम्मेदवार एउटै जिल्लाका हुन् । दुवै जना राजावादी नेताको रुपमा चिनिने गरेको भन्दै राजपामा उनीहरुको विराधे भएको हो । शेखर कुमार सिंह शरद सिंह भण्डारीनिकट मानिन्छन् भने मृर्गेन्द सिंह राजावादी हुन् । सिंहले राजाको पालामा समेत लाभको पदमा थिए ।
आजको अध्यक्ष मण्डलको बैठकमा ठाकुर जम्मा २० मिनेटमात्रै बसेका थिए । उनी चार जना सदस्यहरुलाई तपाईहरु जेसुकै गर्नुहोस मलाई मतलव छैन् भन्दै आजको बैठकबाट बाहिरिएका थिए । तर, ठाकुरले अरु नेता तथा कार्यकर्ताहरुलाई भने भेटेका थिए । अर्का सदस्य महेन्द्र राय यादव त झन संयोजक महतोको उम्मेद्धवार चयनको कदमलाई लिएर आक्रोशित छन् । उनी त बैठकमै सहभागी भएनन् । उनीहरुको गुनासो महतो संयोजक भएको बेलामा पार्टीभित्र केही न केही गडबडी हुने गरेको छ । अहिले पनि उनले विगतको जस्तै गडबडी गरेको उनीहरुको आरोप छ । अहिलेपनि महाधिवेशन तयारी समितिको संयोजक ठाकुर छन् । तर, उनको अनुपस्थितिमा चार जना सदस्यहरुले आजको बैठकमा महाधिवेशनसम्बन्धी निर्णय गरेका छन् ।
राजपाबाट मृगेन्द्र सिंह यादव र शेखर कुमार सिंहको नाममा सहमति गर्न राजकिशोर यादव र अनिल झालाई केन्द्रिय सरकारको मन्त्री बनाईने मौखिक सहमति गरेको स्रोतको दाबी छ । राजपाका प्रभावशाली नेताले पैसाको मोलमोलाई गरी बाँडफाँड भएको जानकारीमा आएको बताए ।
यसैगरी आज पार्टी कार्यालयमा संयोजक महतोको निर्णय र पछिल्लो कदमलाई लिएर चर्को नाराबाजी भएको थियो । पार्टी कार्यालयमा विरोध तथा नाराबाजी गर्ने नेता तथा कार्यकर्ताहरुले चार जना सदस्यहरुले पैसा खाएर बहुमतको निर्णय गरेको आरोप लगाएका छन् । महेन्द्र राय यादव विरामी छन् । उनी भोलि दिउँसो एक बजे नयाँ दिल्ली जाने कार्यक्रम रहेबो बुझिएको छ । उनको मुटुको समस्या छ । दिल्लीमा रहेको मेदान्तमा उनले उपचारको लागि एपोईन्टमेन्ट लिएका छन् । उनी अब दुई सातापछि मात्रै नेपाल फर्किने कार्यक्रम छ ।
यता, दुई जना अध्यक्ष मण्डलका सदस्यहरु ठाकुर र यादवले बैठक बहिष्कार गर्दापनि चार जना अध्यक्ष मण्डलका सदस्यहरुले राष्ट्रिय सभा निर्वाचनमा मत दिने आफ्ना जनप्रतिनिधी मतदाताहरुलाई प्रशिक्षण दिनेलगायतका महत्वपूर्ण गरेका छन् । उनीहरुले बहुमतको आधारमा गरेको निर्णयअनुसार निर्वाचनको अघिल्लो दिन महोत्तरीको बर्दिवासमा दुई दिने मतदाता प्रशिक्षण दिइने भएको छ । आगामी माघ ७ र ८ गते बर्दिवासमा राष्ट्रिय सभा निर्वाचनमा मत दिने प्रदेश २ का आफ्ना जनप्रतिनिधि मतदातालाई प्रशिक्षण दिइने बैठकपछि अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतोले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ ।
त्यसअघि २७ गते राष्ट्रियसभाका मतदाताहरुसँग बर्दिवासमा बैठक बस्ने निर्णय गरिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन संयोजनका लागि केन्द्रीय स्तरमा संयोजन गर्ने जिम्मा संयोजक महतोलाई नै दिइएको छ । सदस्यमा अध्यक्ष मण्डलका सबै सदस्य रहने पनि विज्ञप्तीमा जनाईएको छ ।
विज्ञप्तीमा भनिएको छ,’प्रदेश २ मा भने संसदीय दलका नेता जितेन्द्र सोनल र राष्ट्रियसभाका दुबै उम्मेदवारलाई संयोजनको जिम्मेवारी दिइएको छ । बैठकले पुस २५ गते महाधिवेसन तयारी समितिको बैठक बस्ने र २६ गते जिल्लाहरुमा खटाइएका केन्द्रीय पर्यवेक्षकहरुको बैठक बस्ने निर्णय गरिएको छ । यो दुबै बैठक जनकपुरधाममा बस्नेछन् ।’