काठमाडाौँँ, २४ पुस । मोरङको रंगेली नगरपालिका ९ का ३० वर्षीय अविनारायण भण्डारी बेलुका होहल्ला गर्दै गाउँतिर निस्किए। उनी एकोहोरो भनिरहेका थिए, ‘मैले घरमा आगो फुकिदिएको छु, ताप्नु होला।’ अविनारायण भने त्यही कुरा दोहोर्याउँदै गाउँतिर दौडिरहेका थिए।
मानसिक बिरामी रहेका उनले भनेका कुरा धेरैले वास्तै गरेनन्। पत्याएनन् पनि। तर रातका समयमा आगोसँगै धुवाँको मुस्लो देखेपछि छरछिमेकी सबै आत्तिए। नभन्दै नजिकै घर रहेका उनका काका नारायण भण्डारीले निस्किएर हेर्दा दाजु इन्द्र भण्डारीको घरमा दनदनी आगो दन्किइरहेको देखे। त्यतिबेला मात्रै उनले चाल पाए भतिजो दाजुका छोरा अविनारायणले आफ्नै घरमा आगो लगाए छन्। आफ्नै घरमा आगो लगाएर छिमेकीलाई ताप्न आग्रह गर्दै दौडिएका अविनारायणलाई भने धेरै खोजी गर्दा पनि नभेटिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए। इन्द्रका छोरा अविनारायण आफैँले आगो लगाउँदा एक तले दुईवटा पक्की घर, गाईगोठ र बाख्रा फार्मममा क्षति पुगेको छ। अविनारायणको मानसिक सन्तुलन ठीक भएको नपाइएको प्रहरीको भनाइ छ। प्रनि दाहालले घटनामा ८ लाख रुपैयाँ बढीको क्षति भएको जानकारी दिए।
स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिन सकेका कारण ठूलो क्षति भने हुन नपाएको उनले बताए। ‘आगो पूर्ण रुपमा नियन्त्रणमा लिइसक्दा राति १० बजेको थियो,’ दाहालले भने, ‘घटनाका बारेमा प्रहरीले आफ्नै हिसाबले अनुसन्धान अघि बढाएको छ।’ प्रहरीकाअनुसार अविनारायण लगभग तीन वर्षदेखि घरमा नियमित नबस्ने गरेको पाइएको छ। चार वर्षअघि एक्कासि मानसिक समस्या देखिएपछि बुवा इन्द्रले उपचारका लागि नेपाल र भारतमा रहेका विभिन्न सुविधा सम्पन्न स्वास्थ्य संस्था र अस्पताल पुर्याए। छोराको उपचारमा धेरै खर्च पनि गरे। तर उचार ठीक नहुँदै अविनारायणले घर नै छाडिदिए। कहिले काहिँ आउने र जाने गर्थे। काका नारायणले भने, ‘बहिर कहाँ गएर के गर्छ हामीलाई थाहा भएन। तर घरमा आएको बेला अविनारायणले मानसिक बिरामीले देखाउने व्यवहार देखाउँथ्यो।’
बुवा इन्द्र पनि छोराको यो अवस्था देखेर आजित भइसकेका थिए। ‘उपचार भइरहेका बेला ऊ घरमै बसेन,’ नारायणले भने, ‘कहिले काहिँ आएर बुवालाई थर्काउने, धम्क्याउने र मानसिक अवस्था कमजोर भएकाले देखाउने व्यवहार देखाउने गरेको थियो।’ उनकाअनुसार बाहिरबाट छोरा आएको थाहा पाउन साथ आक्रमण गर्ने डरले असुरक्षित महसुस गर्दै इन्द्र घर नै छाडेर छिमेकीका घरतिर आश्रय लिएर जाने गरेका थिए। अविनारायणको उपचारमा लागेको ऋण तिर्न भन्दै उनकी श्रीमती कला पनि तीन वर्ष अघि कतारतिर लागेको नारायणले बताए। कलाकी सासू एवं अविनारायणकी आमा राधिका त्यसअघि देखि नै वैदेशिक रोजगारीका लागि उतै थिइन्। नारायणका अनुसार श्रीमती विदेश गएको कुरामा अविनारायणको असहमति थियो। पारिवारिक सल्लाह बिना नै श्रीमती विदेश गएको भन्दै घर छाडेर हिँडेका उनले दुई वर्षअघि खोटाङकी एक युवतीसँग दोस्रो बिहे गरेको नारायणको भनाइ छ।
अन्नपूर्णबाट