Logo

ब्रुमर सफा गर्दै, टिपर धूलो झार्दै



काठमाडौँ, १२ माघ । राजधानी काठमाडौँका सडकको धूलो सफा गर्न हरेक रात पाँच वटा ब्रुमर परिचालन गरिन्छन् । साँझ ८ बजेबाट सुरु हुने सरसफाइबाट केही मुख्य सडक चिल्ला र रहर लाग्दा भएका पनि छन् तर निर्माण सामग्री ओसारपसार हुने क्षेत्रका सडकको हविगत भने सफा गरेकै केही बेरमा फोहोर हुने गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल बालुवा, गिटी, ढुङ्गा सहितका निर्माण सामग्री बोक्ने टिपर र ब्रुमरको सफाइको प्रतिस्पर्धा रातमा चल्ने गर्छ । एउटा टिपरले झार्दै गरेको धूलो सफा गर्दै ब्रुमर अगाडि बढ्छ, पछाडि आइरहेको अर्को टिपरले धूलो झार्दै आउँछ । मुख्य नाकाका सडकबाट सुरु हुने यो प्रतिस्पर्धा राजधानीको मुटुसम्म रातमा रहनेगर्छ, जसका कारण काठमाडौँ महानगरपालिकाले धूलो सफा गर्न लिएको जिम्मेवारीमाथि नागरिकको आलोचना र टिप्पणी बढेको उनले बताएका छन् । काठमाडौँ महानगर भएर गुड्ने टिपरको सङ्ख्या तीनदेखि चार सय छ ।

हामीले रातभरि धूलो बढार्छौं तर टिपर लगायत भित्र चउरमा पार्क हुने सवारीले हिलो र धूलो सडकमा ल्याउने क्रम घटेको छैन डङ्गोलले भनेका छन् । उनका अनुसार नागढुङ्गा सडकबाट उपत्यका छिर्ने टिपर, भक्तपुर र ललितपुरबाट काठमाडौँ आउने टिपरले बढी बालुवा सडकमा थुपारेका छन् । टुँडिखेल लगायतका खुला स्थानमा हुने विभिन्न कार्यक्रमका क्रममा भित्र चउरमा पार्किङ गरिएका सवारी साधनका चक्काले माटो, हिलो बोकेर मुख्य सडकमा खसाल्दा पनि सडकको धूलो निखार्न ब्रुमरलाई गाह्रो परेको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्