Logo

ऋषि धमलाले सुनाए ‘ब्याडमिन्टन’ खेलको महिमा



राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता–२०७६ सम्पन्न, को–को विजेता भए ?
काठमाडौं, २५ माघ । टोखा ब्याडमिन्टन एकेडेमीमा राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता–२०७६ को फाईनल खेल सम्पन्न भएको छ । टोखा फिटनेश एण्ड रिक्रिएशन सेन्टर प्रा.लीको आयोजनामा यही माघ २२, २३ र २५ गते तीन दिनसम्म चलेको प्रतियोगिता आज समापन भएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि रिपोर्टर्स क्लब नेपालमा सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले प्रतियोगिताका विजेता खेलाडीहरुलाई पदक, प्रमाणपत्र र पुरस्कार राशी वितरण गरेका थिए । धर्मेन्द्र श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त प्रतियोगितामा मेन्स सिंगल ‘ए’ तर्फ विजेता प्रफुल महर्जन (त्रिभुवन आर्मी क्लब), फस्ट रनरअपमा विधान अधिकारी (पोखरा), सेकेण्ड रनरअप रुकेश महर्जन (त्रिभुवन आर्मी क्लब) र विशाल खड्का (पोखरा) विजेता भएका थिए ।

त्यस्तै, मेन्स डबल ‘बी’ तर्फ सुरोज महर्जन र पविन लिन्थेप (त्रिभुवन आर्मी क्लब) विजेता भएका थिए । त्यो यो समूहमा फस्ट रनरअपमा प्रियांशु सिंह क्षेत्री र पेम्वा शेर्पा (टोखा बि.ए.) र सेकेण्ड रनरअपमा विशाख खड्का र विधान अधिकारी (पोखरा) र ईन्द्र महत र दिपक राणा (टोखा) थिए ।

प्रतियोगिताका विजेताहरुलाई पत्रकार धमलाले पुरस्कार राशि प्रदान गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै पत्रकार धमलाले पछिल्लो समय नेपालमा ब्याडमिन्टन खेलको क्रेज ह्वात्तै बढेको सुनाए । उनले भने,‘अहिले ब्याडमिन्टप्रति क्रेज बढेको छ । यो खेल स्वास्थ्यको दृष्टिकोणले पनि धेरै राम्रो र उपयोगी छ ।’ नेपालका ब्याडमिन्टन खेलाडीहरुले देशलाई चिनाउने कामसमेत गरेको उनले सुनाए ।

उनले उक्त खेलको लागि सानो स्पेश भएपनि हुने भएकोले पछिल्लो समय नेपालमा घरको कम्पाउण्डभित्र पनि खेल्ने गरिएको स्मरण गराए । उनले भने,‘नेपालीहरु अहिले यो खेलप्रति रुचिका साथ लागिपरेका छन् ।’ त्यस्तै, खेलाडीहरुको प्रोत्साहनको लागि सरकार पनि गम्भिर हुन थालेको धमलाको भनाई थियो ।

उनले भने,‘हालै नेपालको आयोजनामा सम्पन्न १३औं साग प्रतियोगितामा उपाधि हाँसिल गर्ने खेलाडीहरुकोलागि राज्यले पुरस्कृत गरेको छ । यो खुशीको कुरा हो । सरकार खेलाडीहरुको भविष्यप्रति गम्भिर देखिएको छ । यो सकारात्मक पक्ष हो ।’

उनले खेलाडीहरुको माग र मुद्दाप्रति आफू जहिल्यैपनि गम्भिर रहेको सुनाउँदै ब्याडमिन्टन खेललाई प्रर्वद्धनको लागि मिडियाको तहबाट आफूले सशक्त भूमिका खेल्ने विश्वास दिलाए ।

उक्त प्रतियोगिता सञ्चालनको लागि टोखा नगरपालिकाको सहयोग रहेको थियो भने कृषि विकास बैंक लिमिटेड, ज्योति विकास बैंक लि. र मुक्तिनाथ विकास बैंक लि.को प्रायोजन थियो । त्यस्तै प्रतियोगिताको मिडिया पार्टनर भने प्राइम टाईम्स टेलिभिजन रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्