काठमाडौं, १२ चैत्र । सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी स्वास्थ्य सामाग्रीको कुनै अभाव नदिने रणनीति बनाएको छ । सम्भावित जोखिमलाई दृष्टिगत गरी छिमेकी मुलुकबाट भएपनि स्वास्थ्य सामाग्री ल्याउने तयारी भएको बुझिएको छ ।
चाटर्ड विमानबाट भएपनि चीनबाट स्वास्थ्य सामाग्री ल्याउने तयारी गरिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए । उनले भने, स्वास्थ्य सामाग्रीको कुनै अभाव हुन दिइनेछैन । आवश्यक परे चाटर्ड विमानबाट पनि ल्याइनेछ ।
चीनले नेपाललाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने बताइसकेको छ । कोरोना भाइरसको जोखिमका कारण कतिपय आयात गर्नुपर्ने स्वास्थ्य सामाग्रीको अभाव हुनसक्ने देखिएपछि सरकारले आवश्यक तयारी गरेको हो ।