Logo

कोरोना संक्रमण फैलिएको दिल्लीको धार्मिक भेलामा सहभागी १३ इन्डोनेशियाली नेपाल पसेपछि…



ललितपुर, २० चैत्र । अहिले भारतमा कोरोना भाइरस बढी फैलिनुको मुख्य कारण दिल्लीको निजामुद्दीनमा भएको मुसलमान धर्मालम्बीहरुको एउटा भेला भएको तथ्यहरु बाहिर आइरहेका छन् । भेलामा सहभागी सयौं व्यक्तिहरु संक्रमित भेटिइसकेका छन् । जसमध्ये ६ जनाको मृत्यु भइसकेको छ । तर, त्यो भेलामा नेपालीहरु पनि सहभागी थिए । त्यसमाथि भेलामा सहभागी १३ जना इन्डोनेशियाली नागरिक नेपाल प्रवेश गरेको पुष्टि भएको छ ।

भारतबाट नेपाल पसेर १३ जना इन्डोनेशियाली नागरिक ललितपुरको महालक्ष्मी नगरपालिकामा बस्दै आएको खुलेको छ । उनीहरु नगरपालिकामा रहेको पुष्टि मेयर रामेश्वर श्रेष्ठले गरेका छन् । उनले भने, ‘इन्डोनेशियाली नागरिक भेटिएको हो, प्रशासनलाई जानकारी गराएर क्वारेन्टाइनमा रहने गरी व्यवस्था गरिएको छ ।’ इन्डोनेशियालीहरु धार्मिक भेलामा सहभागी भएर इमाडोल क्षेत्रमा बसेको जानकारीपछि स्थानीयमा त्रास फैलिएको छ ।

मुसलमान समुदायका इन्डोनेशियाली नागरिक बसयात्रा गरेर नेपाल पसेको बुझिएको छ । उनीहरु निजामुद्धिनको मर्केजलको धार्मिक भेलामा सहभागी भएका थिए । यसबारे ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयसँग बुझ्दा आफूले गएराति इन्डोनेशियाली नागरिक जिल्लामा रहेको जानकारी पाएपनि उनीहरु कसरी आए भन्ने वृस्तृत विवरण नआएको बताए । यसबारे बुझिरहेको उनको भनाई छ ।

धार्मिक भेलामा चार हजार भारतीय र विदेशी मुसलमान समुदायका मानिसहरु सहभागी थिए । उनीहरुको धमाधम खोजी भइरहेको र भेटिएकालाई क्वारेन्टाइनमा राख्ने र नमूना परीक्षण गर्न थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अहिलेसम्म निजामुद्धिनको मर्केलको भेलामा सहभागीमध्ये झण्डै एक हजारजनालाई क्वारेन्टाइनमा राखिएको छ । सयौंलाई कोरोना भाइरसको संक्रमण भेटिएको र उनीहरुको सम्पर्कमा आएका पनि संक्रमित भेटिएको खबर भारतीय सञ्चारमाध्यमले प्रसारण गरिरहेका छन् ।

तब्लिगी जमत भनिएको धार्मिक भेलामा रहेकाहरुमा कोरोना भाइरसको संक्रमण भेटिएपछि भारत सरकारले ३६ घन्टा लगाएर मंगलबार निजामुद्धिनको मर्केज खाली गरेको थियो । २ हजार ३ सय ६१ मानिसलाई निकालेको थियो । जसमध्ये ६१७ जनालाई क्वारेन्टाइनमा राख्यो ।
निजामुद्धिन मर्कज मस्जिद तब्लिगी नेटवर्कको केन्द्र हो । त्यहाँ विश्वभरका मुसलमान समुदायको भ्रमण भइरहन्छ । यसपटक भएको भेलामा पनि विदेशीहरु पुगेको रेकर्ड छ । भारत सरकारले निजामुद्धिनको तबलिगीका सेवकहरुलाई ट्रयाक गरेको खुलेको छ ।

नेपाललगायत, इन्डोनेशिया, मलेशिया, थाइल्यान्ड, म्यानमार, बँगलादेश, श्रीलंका र किर्गिजस्तानका मुसलमान समुदाय तवलिगी जमातको सेवाका लागि पुग्ने गर्छन् । उनीहरुले हजरत मुजाहिद्धिनीको बंग्लेवाली मस्जिदमा आफू पुगेको जानकारी गराउँछन् ।-Photo Source: aljazeera



प्रतिक्रिया दिनुहोस्