Logo

आर्थिक वृद्धिदर ५.३ प्रतिशत मात्रै



काठमाडौँ, २२ चैत । कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको रोकथामका लागि गरिएको बन्दाबन्दीले नेपालको आर्थिक वृद्धिदर खुम्चिने एसियाली विकास बैङ्क (एडीबी)ले प्रक्षेपण गरेको छ । शुक्रबार ‘नेपाल माइक्रोइकोनोमिक अपडेट’ जारी गर्दै एडीबीले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.३ मात्र हुने अनुमान गरेको हो । कोरोना सङ्क्रमणले थप असर पु¥याएमा यस्तो वृद्धिदर अझ कम हुने बैङ्कको आकलन छ ।

पछिल्लो परिस्थितिबाट आर्थिक वर्षको अन्तिम त्रैमासमा आन्तरिक माग घटाउने गरी विपे्रषण घट्ने सम्भावना रहेको पनि एडीबीले जनाएको छ । यस्तो परिस्थितिमा औद्योगिक र सेवा क्षेत्रले आपूर्तिमा अवरोधको सामना गर्नुपर्ने एडीबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले बताएका छन् । धानको उत्पादन कम हुँदा पनि आर्थिक वृद्धि कम हुनसक्ने उनको भनाइ छ । एडीबीको नयाँ तथ्याङ्कअनुुसार नेपालको मुद्रास्फीति अघिल्लो आवको ४।६ प्रतिशतबाट बढेर औसत ६ प्रतिशत पुग्ने उल्लेख छ । महामारीका कारण उत्पादन र आपूर्ति शृङ्खलामा आउने अवरोधका कारण मुद्रास्फीति बढ्ने एडीबीले जनाएको छ । कोभिड–१९ का कारण अस्थायी रूपमा गरिएको सीमा बन्दले खाद्यान्नको मूल्य बढाएको छ । प्रतिवेदन अनुसार कोभिड–१९ को महामारीका कारण अवस्था थप चालू आवमा मुद्रास्फीति अहिले अनुमान गरिएभन्दा अझ बढी हुनसक्ने उल्लेख छ ।

एडीबीका अनुसार चालू आवको सात महिनामा वस्तु व्यापार घाटा अघिल्लो वर्षको १५ प्रतिशतको विस्तारको तुलनामा ४.९ प्रतिशतले घटेको छ । खासगरी भारतमा पाम तेल र अलैँचीको निर्यातसाथ भएको उच्च निर्यात वृद्धि र निर्माण सामग्री, सवारीसाधन तथा पेट्रोलियम पदार्थको घट्दो आयातले गर्दा व्यापार घाटामा सङ्कुचन आएको छ । सुधारिएको व्यापार सन्तुलनले माघको अन्त्यसम्म चालू खाता घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक अर्ब ५० करोड डलरबाट एक अर्ब डलरमा राख्न सहयोग गरेको छ । पेट्रोलियम पदार्थ, पुँजीगत तथा उपभोग्य वस्तुको आयातमा कमी आउँदा यो घाटा गत आवको कुल गार्हस्थ उत्पादनको ७.७ प्रतिशबाट ५.४ प्रतिशतमा खुम्चिने अनुमान गरिएको खबर गोरखापत्र अनलाइनमा प्रकाशित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्