Logo

कोरोनाविरुद्ध उच्च सतर्कता



काठमाडौँ, ६ वैशाख । ललितपुरको दक्षिण भेगमा रहेको बाग्मती, महाँकाल र कोन्ज्योसोम गाउँपालिकामा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । यो क्षेत्र अहिले कान्ति लोकपथ हुँदै हेटौँडा र तराईका विभिन्न जिल्ला प्रवेश गर्ने छोटो मार्ग हो ।

सचेत हुने क्रममा गाउँपालिकामा प्रवेश गर्ने प्रमुख नाका बन्द गरिएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सचेतनामूलक ‘ब्रोसर’ घर–घरमा वितरण गर्ने गरिएको छ । पालिकाभन्दा बाहिरबाट कोही नयाँ व्यक्ति प्रवेश गरेमा आवश्यक सोधखोज गरेर मात्र प्रवेश गर्न दिइएको बाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिएका छन् ।

सबै वडामा समन्वय समिति
बाग्मती गाउँपालिकाले कोरोनाको सङ्क्रमण फैलिन नदिन गाउँपालिकाको सातवटै वडामा कोरोना रोकथामा समन्वय समिति गठन गरेको छ । उक्त समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सचेतना अभिवृद्धि गर्ने, बन्दाबन्दी कार्यान्वयन गराउने, प्रत्येक घर परिवारमा कोरोना भाइरसको सचेतनामूलक ब्रोसर वितरण गर्ने र असङ्गठित क्षेत्रमा कार्यरत व्यक्तिका लागि राहत सामग्री वितरण गर्ने कार्य गरिरहेको छ ।

कामको अनुगमन पालिकाले गरिरहेको गाउँपालिकाका अध्यक्ष लोप्चनले जानकारी दिएका छन् । डेढ महिना अघिदेखि विदेशबाट पालिकामा १२ जना आएको र उनीहरूको शनिबारसम्मा द्रुत स्वास्थ्य परीक्षण ९आरडीटी० परीक्षण गर्ने तयारी गरिएको छ । विदेशबाट आएकाहरू घरमै क्वारेन्टाइनमा राखिएको छ । गाउँपालिकामा खडा गरेको राहत कोषमा करिब २८ लाख रुपियाँ जम्मा भएको अध्यक्ष लोप्चनले बताएका छन् ।

महाँकालमा परीक्षण सकियो
महाँकाल गाउँपालिकामा दुई महिना अघिदेखि विदेशबाट आउनेको सङ्ख्या १० जनाको आरडीटी परीक्षण गर्दा सबैको नतिजा ‘नेगेटिभ’ आएको छ । विदेशबाट आएदेखि नै गाउँपालिकाले उनीहरूलाई घरमै क्वारेन्टाइनमा राखेको थियो । बिहीबार भएको आरडीटी परीक्षणमा सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले जानकारी दिएका छन् ।

उनका अनुसार अहिले गाउँपालिकाले पालिका प्रवेश गर्ने मुख्य नाका बन्द गरेको छ । वडा नं. ६ को बाग्मती गाउँपालिकाको गिम्दीबाट आउने ठाँटीभञ्ज्याङ नाका, वडा नं. ४ काभ्रेबाट आउने घुसघारी नाका र काभ्रेबाट नै आउने वडा नं. ५ को फेदी दुरलुुङखोला करिडोर नाका र कोज्योसोमको शङ्खुबाट छिर्ने बुखेल नाका बन्द गरिएको छ । (गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्