Logo

भोलिबाट लकडाउन झनै कडाई गर्छौं, जो जहाँ छौं त्यहीँ बसौं : उपप्रधानमन्त्री पोखरेल



काठमाडौं, ६ बैशाख । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लकडाउनका कारण अलपत्र परेकाहरुको सरकारले उद्धार गर्ने र उनीहरुलाई खाने बस्नेको उचित व्यवस्थापन गर्ने स्पष्ट पारेका छन् । आज राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका मन्त्री पोखरेलले भने,”भोलिसम्म जहाँ जहाँ मानिसहरु बसेका छन्, ती सबैको व्यवस्थापन गर्ने । कि त गन्तव्यमा पुर्याउने । कि त ठाउँको ठाउँ क्वारेन्टिनमा राखिने तयारी गरेका छौं । यसको लागि हामीले स्थानीय तहसँग समन्वय गरिरहेका छौं । काठमाडौं उपत्यका छोडेर विभिन्न जिल्ला हिँडेकाहरुलाई आज त्रिभुवन पार्कमा राखिएको छ । उनीहरुलाई पनि कि क्वारेन्टाईनमा राख्ने नभए सुरक्षा निकायसँग सम्न्वय गरेर उनीहरुको गन्तव्यसम्म पुर्याउने तयारी भएको छ ।”

उनले सरकारले भोलिबाट लकडाउनलाई अझै कडाई गर्ने पनि घोषणा गरे । उनले भने,”सबै नागरिक यो अवधिमा घरमै बसौं । हामीले लकडाउन अब झनै कडाई गर्ने तयारी गरेका छौं । विपन्न वर्गलाई खानाको कुनै अभाव छैन् । राहत छ । कोही भोकै रहँदैनन् । त्यस्तै, उनले कोरोनाविरुद्ध लड्नको लागि अहिले कुनै छुट्टै उच्चस्तरीय संयन्त्रको आवश्यक नभएको पनि स्पष्ट पारे । उनले भने, यही सरकार कोरोनाविरुद्धको लडाईमा सफल हुन्छ । प्रधानमन्त्री ओली सफल हुनुुहुन्छ । संयन्त्रको कुरा गर्नु बेतुकको कुरा हो । आवश्यकत्ता छैन् ।”

त्यस्तै, उनले स्वास्थ्य सामग्री खरिदमा पनि कुनै अनियमितता नभएको दाबी गरे । उनले भने,”यो सम्झौता गर्दा र खरिद प्रक्रियामा सरकार संलग्न भएको छैन् । यसमा मन्त्रीहरुको पनि संलग्नता छैन् । यो स्वास्थ्य सेवा विभागले सम्झौता गरेको हो ।”



प्रतिक्रिया दिनुहोस्