काठमाडौँ, ८ वैशाख । कोरोना भाइरस (कोभिड–१९) का कारण देश बन्दाबन्दी (लकडाउन)मा छ । लकडाउनमा राजनीतिक दलका नेताले विविध तवरले क्रियाशील देखाइरहेका छन् ।
राजनीतिक दलका नेताका अनुसार आफ्नो क्षेत्रमा गरिब, मजदुर तथा अप्ठ्यारोमा परेकालाई राहत वितरण गर्नुका साथै समस्यामा परेकालाई उद्धार गर्ने र जनतामा चेतना फैलाउने काम पनि गरिरहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी
(नेकपा)का उपाध्यक्ष एवं सङ्गठन विभाग प्रमुख वामदेव गौतमले लकडाउनका कारण नेता तथा कार्यकर्ता पनि आफ्नै घरमा छन् र रहनुपर्छ तैपनि आफ्नो सुविधा अनुसार जनतालाई सहयोग गरिरहेको बताएका छन् । उनले पार्टीबाट नेता तथा कार्यकर्तालाई अप्ठेरोमा परेकालाई सहयोग गर्न निर्देशन छ, सामाजिक दूरी राख्दै काम पनि भइरहेको छ । नेकपाका थुप्रै नेता सङ्घीय, प्रदेश र स्थानीय सरकारमा छन्, कोरोना रोकथाम र नियन्त्रणमा पार्टीको पूर्ण समर्थन र सहयोग रहेको उहाँले बताएका छन् । नेता गौतमले पार्टीले सरकारलाई सहयोग गरिरहेको बताएका छन् ।
‘पार्टीका नेता तथा कार्यकर्ता दिनरात नभनी सहयोगमा जुटिरहेका छन्’ उनले स्पष्ट पारेका छन् । पार्टीका सांसदहरूले १५ दिन बराबरको पराश्रमिक प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् भने पार्टीका नेताले पनि व्यक्तिगत रूपबाट सहयोग गरिरहेको बताएका छन् ।
नेकपाका स्थायी समिति सदस्य एवं सङ्गठन विभागका उपप्रमुख जनार्दन शर्माले रुकुम पुगेर श्रम अभियान चलाइरहनु भएको जानकारी दिएका छन् । उनले सोही अभियानबाट रुकुमको चौरजहारीमा १० कोठाको आइसोलेसन भवन निर्माण गरेका छन् । उनले जनतालाई सहयोग गर्ने यतिबेला नै हो भनेका छन् ।
नेपाली काँग्रेसका नेता डा. प्रकाशसरण महतले लकडाउनका कारण समस्यामा परेकालाई उद्धार तथा सहयोग गर्न पार्टीले नेता तथा कार्यकर्तालाई निर्देशन दिएको बताएका छन् । उनले सामाजिक दूरी कायम गर्दै र स्वास्थ्य मापदण्डभित्र रहेर राहत तथा उद्धारको काममा पार्टीका नेता तथा कार्यकर्ता क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले आफूले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई राहत वितरण गर्न होइन, राहत वितरण गर्नेमाथि निगरानी बढाउन निर्देशन दिएको बताएका छन् । उनले हामीले एकातिर घरमै बसौँ भन्छौँ अर्कातिर राहत वितरण गरौंँ पनि भन्छौँ त्यो सुहाउँदैन ।
राहत वितरण गर्ने काम सरकारी स्तरबाट वडा तहबाट हुनुपर्ने हो, एकद्वार प्रणालीबाट राहत वितरण गर्नुपर्छ, बाहिरबाट निगरानी गर्नुपर्छ भनेका छन् । समाजवादी पार्टीका महासचिव रामसहाय यादवले लकडाउनबाट पीडित भएका जनतालाई सहयोग तथा उद्धार गर्ने काम सरकारले गर्नुपर्ने स्पष्ट गर्दै त्यसमा पार्टीका नेता तथा कार्यकर्ताले समन्वयको भूमिका खेल्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरिरहेको काममा सहयोग पु¥याउन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । पार्टीका तीनैजना अध्यक्ष कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले आइतबार एक विज्ञप्ति जारी गरी सो आग्रह गरेका छन् । (गोरखापत्रबाट)