काठमाडौँ, १० वैशाख । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिद आसपासका थप आठ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भएको प्रारम्भिक नतिजा आएपछि उनीहरूलाई थप परीक्षण र उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
मस्जिदमा बसेका १३ जनामा कोरोना सङ्क्रमण पाइएपछि उनीहरूसँग नियमित सम्पर्कमा रहेका मुस्लिम समुदायका ५३ घरका बासिन्दाको स्वाब सङ्कलन गरिएको थियो । प्रदेश १ स्थित विराटनगर प्रयोगशालाका निर्देशक नेतृत्वको प्राविधिक टोली भुल्के आएर यही शनिबार स्वाबको नमुना सङ्कलन गरेको थियो । पहिलो चरणमा परिवारका मुख्य व्यक्ति र सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेका ६९ जना स्थानीयवासीको नमुना सङ्कलन गरी विराटनगरस्थित प्रादेशिक अस्पतालको ल्याबमा पीसीआर परीक्षण गरिएकोमा एकै परिवारका चारसहित आठजना पुरुषको नतिजा पोजेटिभ पाइएपछि थप परीक्षण तथा उपचार व्यवस्था गर्न धरान लगिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार सङ्क्रमितहरूलाई थप परीक्षणका लागि तत्कालै दुईवटा एम्बुलेन्समार्फत धरान पठाइएको जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिनुभयो । नमुना लिइएका अन्य ६१ जनाको नजिता भने आइनसकेको उनले बताएका छन् ।
उच्च जोखिममा भुल्के गाउँ
सिङ्गो भुल्के गाउँ नै कोरोनाको उच्च जोखिममा परेको भन्दै स्थानीयवासीले नमुना परीक्षणलाई व्यापक बनाएर अभियानकै रूपमा सञ्चालन गर्न र करिब एक महिनादेखिको लामो बन्दाबन्दीको मारमा परेका स्थानीयवासीलाई राहत वितरणको माग गरेका छन् ।
सङ्क्रमितहरूले सर्वसाधारणसँगै बसेर कैयाँैपटक बिहान बेलुका नजिकैको चिया पसलमा नियमित चिया पिउने गरेका थिए ।
पसलहरूमा सामान किन्ने र तरकारी किनबेच गरेका थिए । स्थानीयवासी नेत्र भण्डारीले भने, “भुल्केका सबैको परीक्षण आवश्यक छ, भुल्के अब उच्च जोखिममा प¥यो ।” अर्का स्थानीयवासी यदु ढकालले भने, “पछि पछुताउनुभन्दा अहिले नै व्यापक रूपमा परीक्षण गरे स्थानीयवासीलाई बचाउन सकिन्छ, पछि जटिल हुन्छ ।” (गोरखापत्रबाट)