Logo

गैरआवासीय नेपाली चिकित्सकको सुझाव– बन्दाबन्दी कायम राखौँ



काठमाडौँ, ११ वैशाख । नेपाल सरकारले अहिले गरेको बन्दाबन्दी (लकडाउन) को निरन्तरतालाई डा. मोदास्सिर आलम सकारात्मक रहेका छन् । विगत छ वर्षदेखि कतारको दोहामा कार्यरत सर्लाहीका चिकित्सक आलमको बुझाइमा विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा बढ्न नदिन लकडाउन नै प्रभावकारी माध्यम हुनसक्छ ।

स्वास्थ्य क्षेत्रमा अत्यावश्यक पूर्वाधारमा पूर्ण भएका देशले समेत सङ्क्रमण रोकथामलाई महत्व दिएको अवस्थामा नेपालले पनि यसबाट सिक्नुपर्नेमा जोड दिएका छन् । सामाजिक दूरी कायम गर्नका लागि लकडाउनले बल पुग्ने बताउने डा. आलम नेपालले समयमै लकडाउन गरेकाले तुलनात्मक रुपमा सङ्क्रमण कम देखिएकाले यसतर्फ सबै गम्भीर हुन सुझाव दिएका छन् । तर लकडाउनसँगै जनतालाई अत्यावश्यक सेवा र खाद्यान्नको प्रत्याभूति गर्न र दुईरतीन महिनापछि आउनसक्ने समस्याप्रति पनि आवश्यक मात्रामा सचेत रहेर काम गर्नुपर्ने आवश्यकता देखेका छन् ।

लकडाउनलाई व्यवस्थित गर्दै जानुपर्ने र पछि आउनसक्ने खाद्य सङ्कटप्रति पनि चिन्तन जरुरी रहेको उनको भनाइ छ । “सुपरीवेक्षणको कामलाई पनि प्रभावकारी बनाउनुपर्दछ । लकडाउन भए पनि स्वास्थ्य उपचार सेवालगायतका अत्यावश्यक सेवालाई भने सञ्चालन राख्न आवश्यक छ ।” नर्वेमा कार्यरत अर्का नेपाली चिकित्सक डा सुरज थापालाई पनि लकडाउनले केही समस्या आए पनि अहिले अर्को विकल्प छैन भन्ने लागेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्