काठमाडौं, बैशाख ११ । बरिष्ठ मानवअधिकारबादी नेता कृष्ण पहाडीले मुलुक लकडाउन भएपनि जनताको विवेक लकडाउन नभएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली देशप्रति कति संवेदनशिल रहेछन र उनको ध्यान कता रैछ भन्ने कुरा जारी लकडाउनका बेला उनले गरिरहेका कृयाकलापले पुष्टि भएको पहाडीको भनाई रहेको छ ।
ओलीले गर्दे आएका क्रियाकलाप जनताले नियाली रहेको र समय आएपछि त्यसको उपयुक्त जवाफ दिने समेत उनको भनाई रहेको छ ।
रडियो एनआरएनसंगको विशेष कुराकानीमा संवैधानिक परिषद् र दल सम्वन्धी दुई अध्यादेश रातारात जारी गराएर ओलीले लोकतन्त्रमाथी अपराध गरेको पहाडीको टिप्पणी रहेको छ ।
‘संवैधानिक परिषद्लाई सन्तुलित बनाउन प्रमुख विपक्षी दलको नेता अनिवार्य हुने व्यस्वथालाई हटाउनु परिषद्को आत्मा नै निकाल्नु सरह हो ।’ पाहाडीको भनाई रहेको छ । विपक्ष विहिन लोकतन्त्र परिकल्पना गर्न नसकिने बताउदै उनले लोकतन्त्रको चिर हरण भएको दावी गरेका छन् ।
एउटा अपराध विरुद्ध बोलिएन भने अर्को अपराध हुन्छ भन्दै पाहाडीले गलत कार्यको प्रतिबादमा खरो उत्रिन सवैलाई आह्वानसमेत गरेका छन् ।
‘कुनै व्यक्तिको पछाडी देश र व्यवस्था सति जादैन, गलत गर्नेलाई गलत भन्न सक्नु, प्रश्न उठाउनु सचेत नागरिकको आधारभूत दायित्व हो ।’ उनको भनाई रहेको छ ।
लोकतन्त्रीक आन्दोलनमा नागरिकको तर्फबाट नेतृत्व गरेका पहाडीले नागरिकले अनुभूती गर्न सकेको दिन मात्रै लोकतन्त्र दिवसको सार्थकता हुने बताएका छन् ।