Logo

दैनिक खाना खुवाउने मनकारी मन



काठमाडौँ, १६ वैशाख । बन्दाबन्दीले अलपत्र परेका राजधानीका नागरिकलाई सामूहिक भान्सादेखि ‘प्याकेट’ मा खाना वितरण गर्न दर्जनौँ संस्था र व्यक्ति यतिबेला सक्रिय छन् ।

समस्यामा परेका परिवारलाई राहतको प्याकेज बाँड्दै हिँडेका थिए, रामेछापका प्रदीप घिमिरे । सडकमा बसेर जिन्दगी गुजार्नेले एक दिन प्रदीपसँग खान मागेपछि चैत २९ गतेदेखि तयारी खाना प्याकेट बाँड्न सुरु गरेका थिए । मैतिदेवीका घरपेटीले पनि खाना पकाउन स्थान उपलब्ध गराए । भाँडाकुँडा, ग्यासको जोरजाम गरे । सोही घरमा बस्ने १० जना जति डेरावासी मिलेर निरन्तर रूपमा वसन्तपुर, क्षेत्रपाटी, ढल्कु, नरदेवी, विष्णुमती किनार, जैसीदेवल, किलागल, टेकु क्षेत्रमा दैनिक करिब दुई सय जनालाई साँझको खाना खुवाउँदै आएका छन् ।
यी मनकारी युवाको संयोजन प्रदीप घिमिरेले गरेका छन् ।

यो समूहले चैत १६ गतेदेखि राजधानीका विभिन्न क्षेत्रमा असहाय, अनाथ, अशक्त, अपाङ्गता भएका व्यक्तिलाई दैनिक उपभोग्य वस्तु वितरण गर्दै आएको छ । ‘कोही पनि भोकै बस्न नपरोस्’ अभियानमा सहयोग गर्ने आफैँले खाना बाँड्ने इच्छा राखेमा त्यसको समेत व्यवस्था गरिएको छ । स्थानीय टोल सुधार समिति, प्रहरी र जनप्रतिनिधिको समन्वयमा दैनिक दुई सय जनाका लागि साँझको खाना र पानी एक बोतल दिने गरिएको जनाइएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्