Logo

रगतको अभाव हुँदैन : रेडक्रस



काठमाडौँ, २२ वैशाख । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले बन्दाबन्दीको समयमा रगतको अभाव हुन नदिने घोषणा गरेको छ । रगतको अभाव भएमा भक्तपुर आउनसमेत रेडक्रस जिल्ला शाखा भक्तपुरले आग्रह गरेको छ ।

शाखाले अहिले दैनिक आवश्यकता अनुसार रगत वितरण गर्दैआएको छ । अहिले पनि शाखासँग दुई हजार सात सय पिन्ट रगत भण्डारण रहेको जिल्ला शाखा भक्तपुरले जनाएको छ । शाखाका सभापति मनोजकुमार थापाले रगतको अभाव हुन नदिन भक्तपुरका प्रत्येक टोलमा रक्तदान अभियान चलाइएको बताएका छन् । उनका अनुसार बन्दाबन्दीले गर्दा रगतको अभावमा कसैको पनि ज्यान बचाउन शाखाले जिल्लाका सबै उपशाखालाई परिचालन गरी रक्तदान कार्यक्रमको अभियान सञ्चालन गरेको छ । रेडक्रसले राहत वितरण कार्यलाई सरकारको नीति अनुसार एकद्वारबाट सञ्चालन गर्न भक्तपुरका चारवटै नगरपालिकालाई नगद एक/एक लाख रुपियाँ वितरण गरेको छ । त्यस्तै सात हजार माक्स, पाँच हजार सेट पञ्जा र ५० सेट त्रिपाल वितरण गरेको छ ।

वैशाख १ गतेदेखि भक्तपुर प्रवेश गर्ने मुख्य नाका साँगा र जडीबुटीमा सवारी साधन निर्मलीकरण गर्ने कार्य गर्दैआएको छ । कोरोना सङ्क्रमण फैलन नदिन गत फागुनदेखि नै विद्यालय स्तरमा, सेना, प्रहरी र समुदाय स्तरमा ब्रोसर वितरण गरी जनचेतना अभिवृद्धि गर्ने काम भइरहेको सभापति थापाले बताएका छन् । यसैबीच रेडक्रस गुण्डू उपशाखाले आइतबार भक्तपुरको जगातीमा सवारी साधन निर्मलीकरण कार्य गरेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्