Logo

नेपालगञ्जका संक्रमितको स्वास्थ्य सामान्य, सम्पर्कमा रहेकाको रातीसम्म स्वाब संकलन



काठमाडौँ, २४ वैशाख । बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

उनीहरुलाई वार्डमा चिकित्सकको निगरानीमा राखिएको छ । बाँकेमा पहिलोपटक एक ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखापरेपछि स्थानीय प्रशासनले पिसिआर पद्धतिबाट परीक्षण शुरु गरेपछि आइतबार १६ र मंगलबार थप सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । पहिलो पटक भेटिएका संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण गर्दा एकै वडाका २२ जनामा संक्रमण भेटिएको थियो ।
५६ जनाको स्वाब सङ्कलन नेपालगञ्जमा कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका ५६ जनाको स्वाब सङ्कलन गरिएको छ । सङ्क्रमितको सूचनाका आधारमा उनीहरुको सम्पर्कमा रहेका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का पाँच स्थानबाट गए रातिसम्म तिनको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन श्रेष्ठले जानकारी दिएका छन् ।

खजुरास्थित कोरोना आइसोलेशन अस्पतालमा राखिएका सङ्क्रमितले भनेअनुसार उनीहरुको सम्पर्कमा रहेकाहरुको स्वाव लिइएको हो । स्वास्थ्यकर्मीले गए राति अबेरसम्म बसेर कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरेका हुन् । राति अबेर भएपछि ससाना बालबालिका घर गएका थिए । बाँकी १५ जनाको आज स्वाब सङ्कलन गरिने श्रेष्ठले जानकारी दिएका छन् । नेपालगञ्ज– ८ को जोलाहनपुरुवा टोलबाट २२ सङ्क्रमित फेला परेपछि उनीहरुको सम्पर्कमा रहेका आसपासका टोलमा समुदायस्तरबाट स्वाब सङ्कलन शुरु गरिएको हो । गए राति सङ्कलित स्वाब आज परीक्षण गरिने छ । यही वैशाख १९ गते ६० वर्षीय एक जनामा सङ्क्रमण देखिएपछि उनको सम्पर्कमा रहेका ९४ जनाको परीक्षण गर्दा २२ सङ्क्रमित फेला परेका थिए । अहिले २३ जनाको सम्पर्कमा रहेका व्यक्तिको खोजी गर्दै स्वाब लिने काम भइरहेको फोकल पर्सन श्रेष्ठको भनाइ छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्