Logo

संसद् भवनमा उच्च सतर्कता



काठमाडौँ, २५ वैशाख । कोरोना कहरबीच आह्वान गरिएको सङ्घीय संसद्को बजेट अधिवेशनलाई सुरक्षित बनाउन संसद् सचिवालयले सबै प्रकारका रणनीति बनाइरहेको छ ।

सचिवालयले विशेषज्ञसहितको प्रतिवेदनका आधारमा संसद् बैठकलाई कसरी सुरक्षित बनाउने भन्ने तयारी जारी राखेको छ । मङ्गलबार कार्यव्यवस्था परामर्श समितिको निर्णय अनुसार बिहीबार प्राथमिकताका आधारमा सांसदहरूको कोरोना परीक्षणको प्रक्रिया प्रारम्भ हुँदैछ । वैशाख २६ देखि संसद् अधिवेशन सुरु हुनेछ । बैठकलाई सुरक्षित बनाउनेबारे सचिवालयमा स्वास्थ्य सेवा विभागका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा। अमृत पोखरेल संयोजकत्वको टोलीले प्रतिवेदन दिएको छ । सोही प्रतिवेदनका आधारमा तयारी भइरहेको छ । प्रतिवेदनमै आधारित भएर मङ्गलबार कार्यव्यवस्था परामर्श समितिले सदस्यहरूको पीसीआर परीक्षण लगायतबारे निर्णय गरेको हो ।
प्रधानमन्त्रीलाई छुट्टै व्यवस्था
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई समेत ख्याल गरेर बैठक कक्षमा १२ कुर्सीमा उहाँलाई एकल स्थान निर्धारण गरिएको छ । सत्ता पक्षको पहिलो रोहमा बस्ने प्रधानमन्त्रीलाई सङ्क्रमण जोखिम नहोस् भनेर पछाडिको दोस्रो लाइन पनि पूरै खाली राखिने भएको छ ।

दुई लाइनमा गरी १२ कुर्सी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अघिल्लो साता बैठक कक्षको अवलोकन गरिएको थियो ।
यस्तै बुधबार प्रधानमन्त्रीको निजी चिकित्सक डा. दिव्या सिंह र अर्का चिकित्सक सुवास आचार्यले पनि बैठक कक्षको अवलोकन गरेका छन् । अवलोकनपछि प्रधानमन्त्री आसनपछिको दोस्रो लाइन पनि पुरै खाली राख्ने तय भएको हो । प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले प्रधानमन्त्रीको स्वास्थ्यको समेत ध्यानमा राखेर परामर्शपछि सचिवालयले आसन व्यवस्थापन गरेको बताएका छन् । योगीले भने, “सबै हिसाबले बैठक कक्षलाई कसरी सुरक्षित बनाउने भन्ने एउटा विषय छ ।” (गोरखापत्रबाट)

 



प्रतिक्रिया दिनुहोस्