काठमाडौँ, २६ वैशाख । तीन दिनदेखि नेपालगञ्ज उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरेर पूर्ण रूपमा सिलबन्दी गरिएको छ । यो अवधिमा सहरका सडकमा एम्बुलेन्स, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका सवारी साधन मात्र गुडिरहेका देखिन्छन् ।
नगरका अधिकांश क्षेत्र सुनसान छन् । यहाँ २३ जना कोरोना विषाणु (कोभिड–१९) सङ्क्रमित भेटिएपछि केही दिन अघिसम्म बन्दाबन्दी ९लकडाउन० उल्लङ्घन गर्ने व्यक्ति अहिले डरले घरबाहिर निस्केका छैनन् । भारतबाट आउने तरकारीको आयात पूूर्ण रूपमा रोकिएको छ भने स्थानीय थोक तरकारी मण्डी पनि अनिश्चित कालका लागि बन्द गरिएको छ । निषेधित क्षेत्रमा कसैलाई घरबाट बाहिर निस्कन नदिइए पनि औषधि र अन्य आपत्कालीन सेवाका लागि भने सीमित सङ्ख्यामा स्थानीयवासीलाई आउ–जाउ गर्न दिइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
नगरमा निषेधित क्षेत्र घोषणा लगत्तै जिल्ला स्वास्थ्य कार्यालय बाँकेको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले बढीभन्दा बढी स्थानीयवासीको कोरोना परीक्षण अभियान तीव्र बनाएको छ । सङ्क्रमित फेलापरेको क्षेत्र र सो वरिपरि क्षेत्रका बासिन्दाको पहिचान गरेर स्वाब सङ्कलन र परीक्षण कार्य तीव्र गतिमा भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठले बताएका छन् । गएको तीन दिनमा पहिलो सङ्क्रमित र उहाँको सम्पर्कबाट सङ्क्रमित बनेका करिब तीन सय जनाको खोजी गरेर स्वाब सङ्कलन गरिएको छ । पहिलो दिन सङ्कलन गरिएका ५४ जनाको स्वाब परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जनाउँदै श्रेष्ठले दोस्रो तथा तेस्रो दिन सङ्कलन गरिएका स्वाबको परीक्षण भइरहेको बताएका छन् । नगरका विपन्न र मजदुरले निषेधित क्षेत्र घोषणा गरेर महामारी फैलिन नदिने प्रशासनको कदमको समर्थन गरेका छन् ।
यद्यपि दुई छाक टार्न समस्या भएको गुनासो उनीहरूको छ । बन्दाबन्दीका बेला पनि केही घण्टा छुट हुने हुँदा सो समयमा तरकारी बेचेर जीविका चलाइरहेका नेपालगञ्ज–११ का रहिस कबडियाले तीन दिनदेखि घरमै बस्नुपर्दा छाक टार्न समस्या भएको गुनासो गरेका छन् । यो गुनासो कबडियाको मात्र होइन, नगरका अधिकांश गरिब, विपन्न र मजदुरको साझा गुनासो हो । नेपालगञ्ज–२ का राजेश बाल्मीकिले उपमहानगरपालिकाले एक महिनाअघि बाँडेको खाद्यान्न सकिएको साता पुग्न लाग्यो, बन्दले बाहिर निस्कन पाइँदैन, कसरी बालबालिका पाल्ने रु भन्दै प्रश्न गरेका छन् । परसपुरबाट दैनिक १० किलो दूध ल्याएर बजारमा बिक्री गरी घर खर्च चलाउँदै आउनुभएका परसपुरका जयराम यादवले तीन दिनदेखि दूध बिक्री नहुँदा घर खर्च चलाउन समस्या हुन थालेको बताएका छन् । उता स्थानीय प्रशासनले भने महामारी फैलिन नदिन नगरलाई निषेधित क्षेत्र घोषणा गरेर सिल गर्न बाध्य भएको जनाएको छ । (गोरखापत्रबाट)