Logo

हास्यास्पद सोधपुछले हैरानी



काठमाडौँ, २७ वैशाख । ‘लकडाउनले पसल खुलेको छैन । रिचार्ज कार्ड हालिदिनूस् न ! ’ ‘कोरोनाबाट बच्न सेनिटाइजर नै किन लगाउनुपर्ने ? त्यसको सट्टा रक्सी खाए पनि हुँदैन ?’

टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री नं. १११५ मा हिजोआज कर्मचारी यस्तै हास्यास्पद प्रश्न झेल्न बाध्य छन् । कोरोना भाइरस (कोभिड–१९) बारे परामर्श तथा जानकारी दिन सञ्चालन गरिएको निःशुल्क फोनमा यस्ता ठट्यौला फोन कलबाट कर्मचारी दिक्क छन् । बन्दाबन्दीको बेला पहिलेभन्दा फोन गर्नेको सङ्ख्या निकै बढेको भए पनि नचाहिँदो टेलिफोन कलले कर्मचारीलाई दुःख दिने गरेको महाशाखाका जनस्वास्थ्य अधिकृत अच्युत रेग्मीले बताएका छन् । पिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत अच्युत रेग्मीले ब्लफ कल र मिस कलले कर्मचारी हैरान भएका छन् । साँच्चिकै आपत् परेर वा जानकारी र परामर्श आवश्यक भएर फोन गर्नेको सङ्ख्या न्यून छ भनेका छन् ।

उनका अनुसार अधिकांश टेलिफोन कल गलत उद्देश्यले गर्ने गरिएको छ । टेलिफोनमा बोल्न नजान्ने बालबालिकालाई बोल्न लगाउने जस्ता काम नागरिकबाट भएको उनको भनाइ छ । उनले फोन गरेर साना बालबालिकालाई बोल्न दिइन्छ । त्यस्ता फोन कलको उद्देश्य के हो भन्ने नै थाहा हुँदैन । फोन गरेर चुपचाप बसेर होल्डमा राख्छन् । यस्ता कलले हाम्रो समयको बर्बादी मात्र हुन्छ भने । कतिपयले भने कर्मचारीलाई तनाव दिनसमेत फोन गर्ने गरेका छन् । अधिकृत रेग्मीका अनुसार किशोर तथा युवाले समूहमा बसेर हटलाइनमा फोन गरी महिला कर्मचारीलाई दुव्र्यवहार गरेका छन् । उनले हामीसँग टेलिफोन उठाउने महिला कर्मचारी पनि छन् । महिलाको स्वर सुनेपछि ‘केटी बोलिराछे सुन’ भन्दै समूहमा बसेर कुरा गर्ने पनि छन् भने । यस्ता नियतले फोन गर्नेको कोरोना सङ्क्रमणबारे भने कुनै जानकारी वा परामर्श लिन खोज्दैनन् ।

कोरोना भाइरस सङ्क्रमणबारे जानकारी दिन स्वास्थ्य मन्त्रालयले ११३३ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले १११५ मा नागरिकलाई आपत्कालीन परामर्श तथा जानकारी प्रवाह गर्दै आएको छ । यी नम्बरमा नागरिकले निःशुल्क फोन गरी कोरोना भाइरसबारे जुनसुकै आधिकारिक जानकारी लिन सक्छन् । आपत्कालमा विषयगत सूचना प्रवाह गर्न सञ्चालन गरिएको टेलिफोन सेवाप्रति नागरिक भने संवेदनशील नभइदिएको अधिकृत रेग्मी गुनासो गर्नुहुन्छ । यहाँ कोरोना सम्बन्धीभन्दा धेरै अन्य विषयमा कुरा गर्न फोन आउने गरेको उनको भनाइ छ । ब्लफ कल, मिस कल, होल्डिङ कल तथा जिस्कने नियतले फोन नगर्न उनले आग्रह गरेका छन् ।

कोरोनाका लक्षण के हुन् ? कसरी बच्ने ? जस्ता प्रश्न सोध्न भने कमैले फोन गर्ने गरेको कर्मचारी बताउँछन् । हाल कोरोना फैलिएका ठाउँका भन्दा अन्यत्रबाट बढी फोन आउने गरेको जनस्वास्थ्य अधिकृत रेग्मीले बताएका छन् । बैतडी, काठमाडौँ, डडेलधुरा, रौतहटबाट अधिकांश फोन आएको उनले जानकारी दिएका छन् । महाशाखाले बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म टोल फ्री नम्बर मार्फत सूचना र परामर्श प्रवाह गर्ने गरेको छ । सुरुसुरुका दिनमा दैनिक १० हजारभन्दा बढी फोन आउने गरे पनि अहिले दैनिक झण्डै एक हजार आठ सय वटा फोन आउने गरेका छन् । स्टाफ नर्स, हेल्थ असिस्टेन्ट जस्ता स्वास्थ्यकर्मीले सूचना तथा परामर्श दिन्छन् । स्वास्थ्य मन्त्रालयको टोल फ्री नं. ११३३ मा पनि अनावश्यक फोन धेरै आउने गरेका छन् ।
कल सेन्टरको द्विविधा
महाशाखाको १११५ नं. पहिले नै सञ्चालनमा रहेको सेवा हो । यो सञ्चालनमा रहेकै बेला मन्त्रालयमा समानान्तर किसिमको ११३३ नम्बर स्थापना गर्दा मानिसमा द्विविधा उत्पन्न भएको महाशाखाका जनस्वास्थ्य अधिकृत रेग्मीको भनाइ छ । एउटै मानिसले दुईतिर कुरा गर्दा कहिलेकाहीँ जवाफ फरक पर्न गए त्यसले नकारात्मक परिणाम ल्याउन सक्ने भएकाले एउटै टोल फ्री नं. चलाउँदा राम्रो हुने उनको सुझाव छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्