Logo

कोरोनाको असर जटिल



काठमाडौँ, २८ वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक यति बेला यस युगकै कठिन लडाइँमा रहेको बताएका छन् । ब्रेनगेन सेन्टरले शनिबार ‘स्वास्थ्य अनुसन्धान, अवसर र चुनौती: कोभिड–१९ र यसको भूमिका’ विषयमा आयोजना गरेको अनलाइन छलफल कार्यक्रममा उनले कोरोना भाइरसविरुद्ध यो लडाइँको असर दीर्घकालीन रूपमा पर्ने प्रस्ट्याएका छन् ।

उनले भने, “हाम्रो पुस्ताको सबैभन्दा कठिन महामारीविरुद्ध लडिरहेका छौँ । यस्तो लडाइँ जहाँ कुनै हतियार काम लाग्दैन, जसमा कुनै पनि देशको उच्च विकास र सम्पदा काम लाग्दैन । राजनीतिक घेराको पनि अर्थ छैन ।” यस छलफलले कोभिड नियन्त्रणका लागि नयाँ विचार दिएकाले त्यसलाई सरकारको नीतिसँग जोडेर लैजान सकिने उनले बताएका छन् । उनले कोरोना विरुद्धको लडाइँ कति लामो हुने भन्नेबारेमा पूर्वानुमान गर्न नसकिने औँल्याएका छन् । उनका अनुसार यसले पार्ने दूरगामी प्रभाव जटिल देखिँदैछ । दिगो विकासको लक्ष्यलाई गम्भीर रूपले धक्का दिने आकलन गर्दै गएको तीन वर्षदेखि छ प्रतिशतको आर्र्थिक वृद्धिदर यो वर्ष तीन प्रतिशतभन्दा कममा खुम्चिएको मन्त्री ज्ञवालीको धारणा छ । अझ विश्वव्यापी श्रम बजारमा धक्का पु¥याउनुका साथै सामाजिक प्रणालीमा समेत खलबल ल्याउने देखिएको उनले सुनाएका छन् । कुल गार्हस्थ्य उत्पादनमा योगदान दिने २६ प्रतिशत रेमिट्यान्स र पर्यटनसँगै विकासको गतिमा धक्का पु¥याउने स्थिति छ ।

डायस्पोरिक अनुभवलाई स्वदेशको कार्यक्रम र नीतिमा समेत लिन सकोस् भन्ने कुरा ख्याल गर्नुपर्ने औँल्याउँदै उनले नेपालका उत्तम प्रतिभा संसारका विभिन्न मुलुक, विभिन संस्था, विश्वविद्यालयमा छरिएर रहे पनि नेपाल सरकारकै सम्पदा ठान्ने प्रस्ट्याएका छन् । नेपालको विकासका लागि केही काम गर्न चाहन्छु, केही अध्ययन गर्न चाहन्छु, संरचनागत र नीतिगत अध्ययन गर्छु भन्नेलाई जोडिन उनले आग्रह गरेका छन् । चुनौतीको समयमा स्वदेश फर्कन सके आफूलाई प्रमाणित गर्न सकिने भन्दै उनले हौस्याएका थिए । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्