Logo

कोरोनासम्बन्धी एप सार्वजनिक



काठमाडौँ, २८ वैशाख । कोरोना भाइरस (कोभिड–१९) महामारी रोगको पहिचान, रोकथाम तथा प्रतिकार्यसम्बन्धी जानकारीसहित सङ्क्रमितको टेसिङका लागि बहुउपयोगी ‘कोभिडएनपी एप’ सार्वजनिक गरिएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर)बाट निर्माण गरिएको उक्त एप शनिबार सार्वजनिक गरिएको हो । केन्द्रका संयोजक उपप्रधानमन्त्री पोखरेलले एपमा सर्वसाधारणको पहुँच बढाउनुपर्नेमा
जोड दिएका छन् । “यो प्राविधिक विषय भएकाले सर्वसाधारण नागरिकले सरल र सहज ढङ्गले बुझ्ने र प्रयोग गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ”, उनले थप्नुभयो, “कोभिडएनपी एप प्रयोगका सम्बन्धमा पनि विभिन्न सञ्चार माध्यमबाट सूचनामूलक सामग्री प्रकाशन प्रसारण गर्न जरुरी छ ।” कोभिड–१९ महामारीका सम्बन्धमा सही सूचना, सङ्क्रमणका बारेमा जानकारी, विज्ञ चिकित्सकसँग परामर्श, कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका प्रयास र सङ्क्रमित व्यक्तिलाई उपचारका अतिरिक्त टे«सिङ गर्ने एप सहयोगी हुने धारणा राखे । सो एप यसअघि विभिन्न सरकारी निकायबाट विकास गरिएका मोबाइल एप्सहरूसँंग आबद्ध गरी एकीकृत रूपमा सूचना सङ्कलन तथा आदानप्रदान गर्न सकिने गरी निर्माण गरिएको जानकारी त्यस अवसरमा दिइयो ।

प्राविधिक विज्ञ रामप्रसाद ढुङ्गानाका अनुसार मोबाइलमा एप डाउनलोड गर्दा सोधिएका प्रश्नको उत्तर दिने क्रममा प्रयोगकर्ता कोरोना भाइरस सङ्क्रमित हो वा होइन सजिलै पहिचान हुनेछ । सङ्क्रमणको शङ्का लागेमा विज्ञ चिकित्सकसँंग भिडियो कलबाट पारमर्श लिन सकिनेछ । त्यस्तै कोरोना सङ्क्रमित व्यक्तिको पहिचान भइसकेको अवस्थामा उपचारका क्रममा तथा उपचारपछि पनि सो व्यक्ति कहीँ कतै हिँडडुल गरेको वा त्यसअघि कोही कसैसँग भेटघाट गरेको स्थानको समेत सजिलै पहिचान गर्न सकिने व्यवस्था गरिएको छ ।
मोबाइलको ब्लुटुथ खुला राखी समन्वयात्मक ढङ्गले प्रयोग गरेमा एप प्रयोगकर्ताले अपरिचित सङ्क्रमित व्यक्ति आफू नजिक रहेको सूचना प्राप्त हुनेछ र तत्कालै स्वास्थ्य सतर्कता अपनाउन सक्नेछ । कोरोना सङ्क्रमित व्यक्ति नजिक भएको कुरामा एपले नै सतर्क गराउनेछ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्